Logo

हुलाकी राजमार्ग विस्तार गर्न घर भत्काउन सुरु, १५ दिने सुचना नमाने पछि गाउँपालिकाले चलाए डोजर

हुलाकी राजमार्ग विस्तार गर्न घर भत्काउन सुरु, १५ दिने सुचना नमाने पछि गाउँपालिकाले चलाए डोजर



काठमाडौं । हुलाकी राजमार्गअन्तरगत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तरगत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिएका हुन ।

सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गर्दा पनि सम्बन्धित घरधनीले अटेर गरेपछि गाउँपालिका आफैंले टहरा हटाउन शुरु गरेको हो । ‘हामीले हुलाकी राजमार्ग अन्तरगतसडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गरेका थियौँ’, उनले भने, ‘तर अटेर गरेपछि गाउँपालिकाले डोजर चलाएर हटाउन शुरु गरेका हौं ।’

अहिले सडक विस्तारको काम अघि बढिसकेको छ । ‘घर टहराले गर्दा राजमार्ग विस्तारमा समस्या हुँदै आएको थियो’, उनले भने, ‘अहिले भने टहरा हटाएपछि राजमार्ग विस्तारमा सहज हुँदै गएको छ ।’ जग्गाको मुआब्जा पाएर पनि केहीले घरको मुआब्जा पाउनुपर्छ भन्ने माग राखेकाले पनि यस्तो समस्या आएको थियो । केहीले जग्गा बैंकमा राखेर ऋण लिएकाले पनि मालपोत कार्यालयले जग्गा रोक्का गरेको छ । त्यही कारणले मुआब्जा वितरणमा समेत समस्या हुँदै आएको अध्यक्ष यादवले बताए ।

सडक निर्माण गर्दा लमहीदेखि कोइलावाससम्मै समस्या भएको सडक निर्माण कम्पनी कालीका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले बताए । धेरैजसो स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको श्रेष्ठले बताए । अहिले दाङ खण्डमा निर्माणको काम पूरा गर्ने समय सकिनै लागेको छ तर स्थानीयकै अवरोधले सडक निर्माण ढिला भएको हो ।

लमहीमा पनि भत्काइने

हुलाकी राजमार्गअन्तरगतलमही नगरपालिका खण्डमा घर टहरा भत्काउने तयारी थालिएको छ । यसका लागि घरको अभिलेख लिने कार्य भइरहेको नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिएका छन । ‘हामीले पनि हुलाकी राजमार्गअन्तरगतसडक मिचेका घरहरु भत्काउने तयारी थालेका छौँ’, उनले भने, ‘त्यसका लागि अहिले घरको अभिलेख तयार पार्ने काम गरिरहेका छौँ ।’

पूर्व–पश्चिम राजमार्गदेखि लमही बजार हुँदै कोलहीको बगइसोतासम्म सडक मिचेर बनाएका घर भत्काउनका लागि अभिलेख तयार पार्ने काम भइरहेको छ । अभिलेख संकलन पछि सर्वदलीय बैठक बोलाएर घर हटाउने विषयमा छलफल गर्नेसमेत नगरप्रमुख केसीले बताए । उनले लमही बजार क्षेत्रका धेरैजसो जग्गाधनीले जग्गाको मुआब्जा पाइसकेको र केहीले आफ्नै कारणले पाउन नसकेको जानकारी दिए । भत्काउने घरको अभिलेख निकालेपछि मुआब्जाको लागि हुकाली राजमार्ग कार्यालय पठाउने र कार्यालयको निर्णयअनुसार काम अगाडि बढाइने प्रमुख केसीको भनाइ छ/रासस

प्रतिक्रिया दिनुहोस्