Logo

ठेक्का लिएर आकाशे पुल निर्माणकर्ता सम्पर्कविहीन, काठमाडौं महानगरपालिका अन्यौलमा

ठेक्का लिएर आकाशे पुल निर्माणकर्ता सम्पर्कविहीन, काठमाडौं महानगरपालिका अन्यौलमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका व्यस्त सडकमा पैदलयात्रुको सुविधाका लागि निर्माण गर्न लागेका आकाशेपुल निर्माणमा विभिन्न समस्या देखा परेका छन । जसका कारण हाल निर्माण भइरहेका आकाशे पुल समयमै तयार नहुने निशिचत भएको छ भने निर्माण शुरु नहुँदै ठेकेदार नै सम्पर्कविहिन भएपछि के गर्ने भन्नेमा महानगर नै अन्यौलमा परेको छ ।

पछिल्लोपटक जयबागेश्वरीमा महानगरले आकाशे पुल निर्माणका लागि ठेक्का दिएको ठेकेदार नै सम्पर्कविहीन भएको छ । महानगरले पटक–पटक सम्पर्क गर्न खोज्दा समेत सो पुलको ठेकेदार सम्पर्कमा नआएको महानगरका शहरी बिकास पूर्वाधार विभाग प्रमुख उत्तरकुमार रेग्मीले जानकारी दिए ।

उनका अनुसार अझै पनि ठेकेदारसँग सम्पर्क गर्ने प्रयास भईरहेको छ । तर, ठेकेदारले फोन नउठाए पछि एसएमएस गरेको र उक्त एसएमएसको समेत कुनै प्रतिक्रिया नआएपछि आफुले योजना महाशाखालाई इमेल पठाउन निर्देशन दिएको रेग्मीले बताए ।

त्यस्तै महानगरले फागुन दोस्रो हप्ता भित्रै निर्माण सम्पन्न गर्ने भनेको माईतीघरको आकाशे पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन । महानगरका शहरी बिकास पूर्वाधार विभाग प्रमुख रेग्मीले यसअघि फागुन दोस्रो हप्ता भित्रै सम्पन्न गर्ने गरि काम अघि बढाएको बताए पनि हालसम्म उक्त आकाशे पुलको पिलर राख्ने भन्दा अन्य कुनै काम हुन सकेको छैन ।

रेग्मीले भने उक्त काम गर्न पर्याप्तमात्रमा सामग्री (क्रेन, जनशक्ति) नहुनु र ट्राफिक जामलगायतले गर्दा ढिलाई भएको बताए । उनले भने, ‘दिनमा ८ घण्टामा सकिने काम राती गर्दा ८ दिन लाग्छ । किनभने दिउँसो काम गर्ने कामदार ल्याएर नै त्यहाँ पनि काम लगाउने हो । जसले गर्दा धेरै जनशक्ति पनि हुँदैन र दिनमा जस्तो सजिलोले काम पनि गर्न सकिँदैन । सो क्षेत्रमा दिउँसो काम गर्ने वातवरण नभएकाले पनि जसरी भए पनि रातिनै काम गर्नुपर्ने हुन्छ, काममा केही ढिलाई भएको छ । म मान्छु । तर, काम गर्नलाई जनशक्ति अभाव भएको छ, हामीले निरन्तर काम गरिरहेका छौं, अब छिट्टै सम्पन्न हुन्छ ।’

पुलका लागि पिलर राख्ने काम सकिसकेको र अन्य सामग्री ल्याएर जडान गर्न मात्रै बाँकी रहेकाले अव छिट्टै काम सम्पन्न हुनेमा आफुहरु विश्वस्त रहेको रेग्मीले बताए । माइतीघरमा निर्माण भईरहेको उक्त पुलको काम भने कोसी बिल्डर्स मोरङले गरिरहेको छ । महानगरले कोसी बिल्डर्ससँग ६८ लाख ७३ हजार १ सय ५३ रुपैयाँमा सो पुल बनाउन सम्झौता गरिएको थियो ।

त्यस्तै महानगरले चाबहिलको आकाशे पुल निर्माणको लागि शिलन्यास समेत गरिसकेको छ । उक्त पुलको काम पनि जेठ मसान्तभित्रै सम्पन्न गर्ने योजनाका साथ अघि बढेको रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार माईतीघर, चाबहिल र जयबागेश्वरीमा निर्माण हुने ३ ओटा आकाशे पुलको लागि भने करिब साढे ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उनका अनुसार महानगरपालिकाले आव ०७४-७५ मा आफ्नो क्षेत्रभित्र १० वटा आकाशे पुल बनाउने योजना अघि सारेपनि हाल ३ ओटा मात्रै पुल निर्माणको काम भइरहेको छ । सबै ठाउँमा आकाशे पुल नहुँदा बटुवाले सडकबाटै बाटो काट्ने हुनाले पनि ट्राफिक जामको समस्या तथा सडक दुर्घटनाको दर बढ्दै गईरहेको छ । सहरका मुख्य चोकमा आकाशे पुलको व्यवस्था भए ट्राफिक जाम र दुर्घटना पनि केही हदसम्म कम हुने र पैदलयात्रीलाई सहज हुने प्रमुख रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्