काठमाडौं । लगानी बोर्डको ४२ औं बैठकले ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना, मस्र्याङ्दी बेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली –३ बी जलविद्युत परियोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको हो ।
बैठकले माथिल्लो त्रिशुली १ का लागि ६५ अर्ब, मस्र्याङ्दी बेसीका लागि ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाका लागि आठ अर्ब २२ करोड ७४ लाख रुपियाँ लगानी स्वीकृत गरेको लगानी बोर्डले जानकारी दिएको छ ।
नेपाल वाटर एण्ड इनर्जी डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ । माथिल्लो त्रिशुली २ बी आयोजना नेपाल विद्युत प्राधिकरणमार्फत् निर्माण हुँदैछ ।
त्यसैगरी, बैठकले प्रदेश सरकारहरु÷संघीय मन्त्रालयलाई एकीकृत कृषि परियोजना हस्तान्तरण गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले ठूला परियोजनाहरु बिना अवरोध कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरुबीच समन्वयको आवश्यकता औंल्याए ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालको उपस्थिति रहेको थियो ।
यस्तै बैंठकमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, बोर्डमा नीजि क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।