Logo

रानी पोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सुरु, शिखर शैलीमा बनाउँदै कालिगढ

रानी पोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सुरु, शिखर शैलीमा बनाउँदै कालिगढ



काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिरको पुनर्निर्माण सुरु गरेको हो ।

मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मन्दिर वरिपरिको प्यासेज पुनर्निर्माण थालिएको प्राधिकरणले जानकारी दिएको छ ।

सीए÷तुलसी कन्ट्रक्सन जेभीका साइट इञ्जिनियर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकहरुले काम गरिरहेको जानकारी दिएका छन । उनका अनुसार क्षमापूजा गरेपछि मुख्य मन्दिरको पुनर्निर्माण गरिनेछ । श्रेष्ठका अनुसार कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रुपमा अघि बढाउने भएको छ ।

रानीपोखरीको पुनर्निर्माणको अनुगमन गरेका प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको कार्य सन्तोषजनक रहेको बताएका छन ।

निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्नेछ । भने उपभोक्ता समितिले पोखरीको पिंध र वरिपरिको पर्खाल पुनर्निर्माणको जिम्मेवारी पाएको छ । उपभोक्ता समितिले पोखरीको पश्चिम पट्टिको पर्खाल लगाइसकेको छ भने दक्षिण र उत्तरको एक तिहाई भागमा पर्खाल लगाउने क्रम गरिरहेको छ ।

पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ । त्यस्तै, भक्तपुरका दक्ष कालिगढहरुबाट पोखरीमा पानी अड्याउन कालो माटोको सलामी दिने काम समेत तिब्र पारेको छ । पुनर्निर्माण प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढहरुको संख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन समेत दिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्