काठमाडौं । धरहरा निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सन कम्पनी कालोसुचिमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा प्रतिकुल प्रभाव पर्न सक्ने भन्दै रमन पप्पु जेभीलाई कालोसुचिमा राखेको हो ।
‘कागजपत्र अध्ययन गर्दा तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिदा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावना देखिएको छ’, कार्यालयको सुचनामा उल्लेख छ । कार्यालयले रमनपप्पु जेभी जनकपुर, धनुषालाई नयाँ खरिद कार्यमा रोक लगाएको हो ।
कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम (२) बमोजिम सो निर्माण व्यवसायीको कालोसूची सम्वन्धी कारबाही प्रक्रिया टुङगो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिदमा रोक लगाएका जानकारी दिएको छ । कम्पनीले धरहरा, हुलाकी राजमार्ग लगायतका आयोजनाको ठेक्का पाएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय टेकुले जेभी कम्पनीलाई दायित्व अनुसारको काम नगरेपछि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएको थियो । नारायणी पुलको जिम्मा लिएर कामै नगरेपछि रमणरपप्पु जेभीलाई कालोसूचीमा राख्न हुलाकी राजमार्ग आयोजनाले पत्राचार गरेको हो । आयोजनाले रमणर पप्पु जेभीले पुल नै बनाउन नसकेको भन्दै यस अघि नै सार्वजनिक सूचना निकालेर एकतर्फी रुपमा ठेक्का तोडिसकेको थियो ।