Logo

नागढुङ्गा–नौविसे सुरुङमार्गको अन्तिम मुल्याङकनका लागि जाईकामा पठाईयो, १ महिना भित्रै काम सुरु

नागढुङ्गा–नौविसे सुरुङमार्गको अन्तिम मुल्याङकनका लागि जाईकामा पठाईयो, १ महिना भित्रै काम सुरु



काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्ग निर्माण गर्न कम्पनी छनोट मुल्याङ्कनका लागि ‘जाईका’मा पठाईएको छ । २ हप्ता अघि मात्रै जापानिज कम्पनीलाई उक्त सुरुङमार्गको ठेक्का दिईएको बताईएपनि भर्खरै मात्र मुल्याङ्नको लागि पठाईएको सडक विभागले जानकारी दिएको छ ।

विभागका अनुसार विभिन्न ५ ओटा कम्पनीले उक्त सुरुङमार्ग निर्माणका लागि टेण्डरमा आवेदन दिएका थिए । तर जाईकाले मुल्यांकन गरेपछि मात्रै कसले ठेक्का पाउने भन्ने विषयमा टुङ्गो लाग्नेछ । जाईकाबाट मुल्याङ्कन भएर आएपछि ठेक्का पाउने कम्पनीको नाम घोषणा गरिने विभागले जानकारी दिएको छ ।

सो आयोजना जापान सरकारको १६ अर्ब ऋण र नेपाल सरकारको ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा निर्माण गर्न लागिएको हो । उक्त सुरुङ्मार्ग निर्माणका लागि ६ महिना अघिमात्रै टेण्डरको आह्वान गरिएको थियो ।

सोही टेण्डर अनुसार नै हालसम्म मूल्याङ्कनको काम सकाएर जापानी सहयोग नियोग जाईकालाई अन्तिम मुल्याङ्नका लागि पठाईएको विभागका उप–महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिएका हुन । जाईकाले अन्तिम मुल्याङ्कन गरिसकेपछि मात्रै उक्त आयोजनाको ठेकेदार घोषणा हुनेछ । उक्त कम्पनी घोषणा भएलगत्तै १ महिनामै निर्माणको काम सुरु हुने विभागले जानकारी दिएको छ ।

कुल २ दशमलव ७ किलोमिटरको उक्त सुरुङमा सहायक र मुख्य गरी २ ओटा सुरुङमार्ग रहनेछन । जसमा मुख्य सुरुङमार्ग सवारीसाधन संचालन र सहायक सुरुङमार्ग आपतकालिन सेवाका लागि प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्