Logo

नारायणगढ–मुग्लिन सडकखण्ड १४ दिन बन्द, यस्तो छ गाडी संचालन हुने समयतालिका

नारायणगढ–मुग्लिन सडकखण्ड १४ दिन बन्द, यस्तो छ गाडी संचालन हुने समयतालिका



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन सडकखण्ड १४ दिन बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले उक्त सडक बन्द हुने भएको हो ।

दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जानकारी दिएको हो ।

योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म उक्त सडक बन्द गरिनेछ । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १ सय २० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क्ब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको १२ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL