Logo

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो



काठमाडौं । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ ।

करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिएका छन ।
यसअघि महाशाखाले बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याइसकेको छ ।

करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारीसाधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आउने महाशाखा प्रमुख पन्तले बताए । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई नमूना राजधानीका रूपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीनमहीने कार्ययोजना बनाएर करिडोर खोल्ने काम सुरु गरेको हो ।

महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शंखपार्कमा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टपलाइन निर्माण, तीन हजारभन्दा धेरै मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतनाकक्ष सञ्चालन गरिसकेको छ ।

यस्तै, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जानकारी दिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताएका छन । उनले भने, ‘करिडोर निर्माणसँगै बसपार्क पुलमा हुने जाममा कमी आउनेछ ।’

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौं उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन /रासस

प्रतिक्रिया दिनुहोस्