Logo

२ बर्ष भित्र ७७ ओटै जिल्ला राष्ट्रिय सडक सञ्जालमा, ४ बर्षमा स्थानीय तहका सडक कालोपत्रे

२ बर्ष भित्र ७७ ओटै जिल्ला राष्ट्रिय सडक सञ्जालमा, ४ बर्षमा स्थानीय तहका सडक कालोपत्रे



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र हुम्ला र डोल्पाको सदरमुकामसम्म सडक पुर्याउने भएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेबी भण्डारीले आगामी आवमा उक्त जिल्ला सदरमुकाममा सडकसञ्जाल पुर्याई ७७ रै जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने बताएकी छिन । सरकारले आगामी ४ बर्षभित्रै सम्पूर्ण स्थानीय तहका केन्द्रलाई समेत कालोपत्रे सडकले जोडिने गरी काम गर्ने जानकारी दिएको छ ।

त्यस्तै काठमाडौंलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी २ बर्षभित्र निर्माण कार्य सुरु गर्ने जानकारी दिएको छ ।

सरकारले जयनगर–बिजलपुरा र भारतको बथनाहादेखि विराटनगरसम्म आगामी आव भित्रै रेल सेवा सञ्चालन गर्ने जानकारी दिएको छ तर विभागले भने उक्त रेलमार्गमा ३ महिना भित्रै रेल संचालन गर्ने जानकारी दिईसकेको छ ।

सरकारले चुरे तथा भित्री मधेशका उपत्यकाहरूलाई आर्थिक तथा औद्योगिक करिडोरको रूपमा विकास गर्न झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्म निर्माणाधीन मदन भण्डारी राजमार्गको निर्माण कार्यलाई तीब्रता दिइने भएको छ ।

रणनीतिक महत्त्वका सडकहरू र आर्थिक केन्द्र जोड्ने सडकहरूको निर्माण तथा स्तरोन्नति कार्यलाई तीब्रता दिइनेछ । पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डहरूको विस्तार आगामी ४ बर्ष भित्रै सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।

सडक सुरक्षा पर्खालसहितका रोड फर्निचर्स निर्माण गरी सबै सडकहरूलाई सुरक्षित बनाउने भएको छ । सरकारले निर्माण गर्ने सबै सडक कम्तीमा दुई लेनको हुने छ भने निर्माण भईरहेको तथा निर्माणाधीन सडकहरुमा सुरुङ प्रविधि प्रयोग गरी सडकको दूरी र लागत घटाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL