बिजखबर संवाददाता
२१ वैशाख, काठमाडौं ।
एशियाली विकास बैंक (एडीबी)ले गत १२ गते आएको महा भुकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माणका लागि नेपाललाई २० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । महा भुकम्पबाट क्षति भत्किएको भौतिक संरचनाको पुनः निर्माण तथा मर्मतसम्भारका लागि एडीबीले उक्त सहयोग गर्ने भएको हो ।
अजरबैजानको बाकुमा सोमवारदेखि शुरु भएको एडीबीको ४८औं वार्षिक वैठकले नेपाललाई उक्त सहयोग दिने निर्णय गरेको हो । एडीबीले यसअघि नै भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन तीन ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ ।
एडीबीले सहयोग दिएसँगै सरकारले खडा गरेको पुनः निर्माण कोषमा ४० अर्ब रुपैयाँ पुगेको छ । सरकारले यसअघि २० अर्ब रुपैयाँ जम्मा गरेर २ खर्ब रुपैयाँको कोष खडा गरेको छ ।
त्यस्तै, जापान, चीनलगायत देशले नेपालको भौतिक संरचनाको पुनः निर्माणका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महाभुकम्पबाट विपदमा परेको नेपाललाई सहयोग जुटाउन सोमवार नै एडीबीले आयोजना गरेको ‘पाटर्नरशिप फोरम फर नेपाल’ शिर्षकको वैठक उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । एडीबीका अध्यक्ष ताकेहिको नाकाओले अध्यक्षता गरेको उक्त वैठकमा नेपालका अर्थमन्त्री रामशरण महतले सवैसँग सहयोगको अपिल गरेका थिए । वैठकमा सहभागी अधिकांश मुलुकका अर्थमन्त्रीले सहयोगको आश्वसन दिएको अर्थमन्त्रीले ट्विटर मार्फत जनाएका छन् । जापान सरकारले नेपालको भौतिक पुनर्निर्माणमा सहयोग जुटाउनका लागि दाताहरुको सम्मेलन गराउने प्रस्ताव गरेको अर्थमन्त्रीले ट्वीटरमा लेखेका छन् । त्यस्तै, चीनका अर्थमन्त्री लाउजीवे र भारतका अर्थमन्त्री अरुण जेट्लीले पनि नेपाललाई हरप्रकारको सहयोग गर्न तयार रहेको आश्वासन दिएको अर्थमन्त्री महतले जनाएका छन् ।
एडीबीले सोमवार आयोजना गरेको ‘पाटर्नरशिप फोरम फर नेपाल’ शिर्षकको वैठकको अध्यक्षता गर्दै एडीबीका अध्यक्ष ताकेहिको नाकाओ (बायाँ) र नेपालका डा. अर्थमन्त्री रामशरण महत ।