काठमाडौं । काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि यसको लागि केही समय अरु लाग्ने बताएको हो ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल भइरहेकाले शुरु गर्न अझै केही समय लाग्ने बताएका छन । केही समयअघि मात्रै कामपाले तत्काल दुई स्थान चाबहिल र पुरातत्व विभाग अगाडि पुल निर्माणको काम गर्ने भने पनि हाल ती स्थानमा पनि निर्माण नहुने भएको छ ।
आठ स्थानमा पुल निर्माणका लागि टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना रहेको छ । सवारीसाधनको अत्याधिक चाप हुने तीे क्षेत्रमा त्यस्ता पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या हुँदै आएको छ ।
पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था उस्ताको उस्तै छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको जानकारी दिएको थियो ।
कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क, बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । सञ्चालनमा रहेका केही पुललाई पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको छ । वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण भएकाले तत्काल मर्मतको आवश्यकता रहेको छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने देखिन्छ ।
कामपाले चालू आव २०७५÷७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा ४ अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । नयाँ ती पुल बनाउन १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।