Logo

गल्छी–रसुवागढी सडक कालोपत्रे सुरु, स्थानीयको आन्दोलन जारी

गल्छी–रसुवागढी सडक कालोपत्रे सुरु, स्थानीयको आन्दोलन जारी



काठमाडौं । गल्छी रसुवागढी सडकखण्डका कालोपत्रे गर्ने काम सुरु गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको उक्त सडक कालोपत्रे गर्ने काम मंगलबारदेखि शुरु गरिएको हो । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको छ ।

मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु¥याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्शन प्रालिका इञ्जिनीयर सुरज गौतमले जानकारी दिए । पिपलटारका बासिन्दाले सडकमा पर्ने जग्गाको मुआब्जा नदिई कालोपत्र थालेको भन्दै विरोध गरेका हुन् । लीलानाथ न्यौपानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरी उनीहरुले आन्दोलन थालेका छन् ।

त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्गको दायाँबायाँ जग्गाको सीमा निर्धारण २०३४ सालमा सडक विस्तारको क्रममा गरिएकाले हालको सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि कानूनी अभाव रहेको आयोजना प्रमुख सुवोध देवकोटाले बताए । उक्त सडकको पृथ्वी राजमार्ग्स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमी सडक निर्माणको काम भइरहेको छ । आयोजनाको हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ ।

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले ९ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने सो सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्शन जेभीमार्फत भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबँेसीसम्मको १८ किमी सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरी नेपाली सेनाले गत वर्ष चैत ३० गते आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ । स्याफ्रुबँेसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ । (तस्बीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्