काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विषयमा छलफल गर्न रेल विभागको टोली चीन जाने भएको छ ।
चीन सरकारको प्राविधिक टोली गत जेठमै केरुङ–काठमाडौं रेल मार्गको सम्भाब्यता अध्ययन गरी फर्किसकेको छ । चिनियाँ प्राविधिक टोलीले काठमाडौँ देखि नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे) केरुङसम्मको अध्ययन सम्भाव्यता पूरा गरेको थियो ।
प्राविधिक टोलीले एक साताको अवधिमा गरेको पूर्व सम्भाव्यता अध्ययनबाट काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङकनको अवस्था सहितको सम्भाव्यता के हुन्छ भनेर प्रतिवेदन निर्माण गरि सकेको छ । सोही प्रतिवेदन माथी छलफल गर्न टोली चीन जान लागेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार महानिर्देशक अन्नत आचार्य सहितको टोली यही अगष्टको तेस्रो साता चीन जाँदै छ । चीनमा हुने छलफलमा केरुङ–काठमाडौं रेल मार्ग कुन मोडालिटिमा बन्ने र कति रकम लाग्ने हो सो विषयमा छलफल हुनेछ ।
केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग करिब ७२ किमी लामो हुन्छ । ‘केरुङदेखि स्याफ्रुबेसी हुँदै काठमाडौं आउने रेलमार्ग करिब ९० प्रतिशत सुरुङ र पुलमा बनाउनुपर्छ,’ विभागका इन्जिनियर किरण कार्कीले भने, ‘उत्तर क्षेत्रबाट आउने रेलले हिमाल, पहाड र ठूला खोचहरु पार गर्दै आउनुपर्छ । जसमा सुरुङ र पुलहरुको निर्माण गर्नुपर्ने हुन्छ ।’
यसअघि चिनियाँ रेल प्रशासनको उच्चस्तरीय टोलीले केरुङ–काठमाडौँं र काठमाडौंँ–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यताको अध्ययन गरेको थियो । त्यो अध्ययनमा केरुङबाट रसुवागढी–त्रिशूली–काठमाडौंँ सम्म रेल सञ्चालन सहज रहेको संकेत दिएको थियो ।