Logo

बेनी–कोरला सडक खण्डमा १४ वटा पुल निर्माण हुँदै, ३० महिनामा निर्माण सम्पन्न गर्ने

बेनी–कोरला सडक खण्डमा १४ वटा पुल निर्माण हुँदै, ३० महिनामा निर्माण सम्पन्न गर्ने



काठमाडौं । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडक खण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ ।
कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो ।

अहिले ६ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र ८ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताएका छन । उनका अनुसार, आगामी ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने १६९ किलोमिटर बेनी–जोमसोम–कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ । अहिले बेलिब्रिजमार्फत सवारी साधन वारपार हुँदै आएकामा ती बेलिब्रिजलाई विस्थापित गरी पक्की पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख सुवेदीले बताएका हुन ।

आयोजनाका अनुसार म्याग्दीको दानास्थित घट्टेखोलामा ५ करोड ७६ लाख रुपैंयाको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोलामा ५ करोड ९७ लाख रुपैंयामा सिर्वा कन्स्ट्रक्सन, मार्फा र जोमसोमको बीचमा १० करोड ५० लाखमा मुक्तिनाथ श्री गीता जेभीले पुल निर्माण गरिरहेको छ ।

त्यस्तै, कागबेनी खोलामा २ करोड ८८ लाख रुपैंया लागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्ड खोलामा लोकप्रिय शंकरमनी जभीले ३ करोड ९ लाख रुपैंयामा ठेक्का लिएको छ । सडक विभाग अन्तर्गत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकी माथि पुल निर्माणको जिम्मा लिएको छ ।

दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ । तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने शुरु भएको छैन । गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ । गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ ।

आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि एकहप्ताअघि टेण्डर आह्वान गरेको छ । नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर बेनी–जोमसोमखण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो । तर, मर्मतसम्भारको अभावमा बेलिब्रिजहरु जीर्ण भएका छन ।

प्रतिक्रिया दिनुहोस्