काठमाडौं । लामो समय रोकिएको काठमाडौं टावर निर्माणको कार्य सुस्त गतिमा भइरहेको अवस्थामा काठमाडौं महानगरपालिका भने त्यसको पुनरावलोकन गर्ने तर्फ लागेको छ ।
ठेकेदार कम्पनीले चित्त बुझ्दो काम नगरेको भन्दै महानगरपालिकाले सो टावर निर्माणका लागि भएका सम्झौता, निर्णय तथा प्रगतीबारे अवलोकन गरेर मात्र निर्णय गर्ने मेयर विद्यासुन्दर शाक्यले बताए ।
‘अध्ययन पश्चात सो ठेकेदार कम्पनीसँगको सम्झौता जारी राख्ने वा रद्ध गर्ने निर्णय लिनेछौं’ उनले भने ।
महानगरपालिकाका अनुसार निर्देशक हरि कुँवरको संयोजकत्वमा महानगरपालिकाले कार्यदल बनाएर अध्ययन गरिरहेको छ ।
कार्यदलले टावर निर्माणमा भएको प्रगति तथा ठेकेदार कम्पनीको काम गराइबारे अध्ययन गर्ने छ ।
कार्यदलको सुझावसहितको प्रतिवेदन अनुसार महानगरपालिकाले निर्णय गर्ने छ । यता निर्माण जिम्मा पाएको जलेश्वर स्वछन्द विकोई कम्पनीले भने निर्माणको काम शुस्त रुपमाा अघि बढाइरहेको छ ।
कम्पनीले पनि टावरका लागि लगानी जुटाउन सकेको छैन । त्यसो त टावर कति तलाको बन्ने विवाद छ । साथै स्थानीयले पनि टावर निर्माणको विरोध गरिरहेका छन् ।
कम्पनीसँग महानगरपालिकाले भूकम्पअघि नै टावर निर्माणका लागि सम्झौता गरेको हो । शुरुमा २९ तला बनाउने भनिए पनि भुकम्प पश्चात १२ तलाको हुने भएको थियो । यता कम्पनीले भने २९ तला नै हुनुपर्ने, अन्यथा भाडा घटाउनुपर्ने अडान राखेको पनि महानगरले सहमति दिएको छैन ।
ठेकेदार कम्पनीले वार्षिक रुपमा २ करोड ३५ लाख रुपैयाँ तिर्नुपर्ने सम्झौता छ, जुन बार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले वृद्धि हुन्छ ।
सो टावरको लागत साढे ३ अर्व अनुमान गरिएको छ । टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने बताइएको छ । टावरको ग्राउन्ड फ्लोरमा अरनीको बसको पार्किङ र माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ । सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने छ ।