काठमाडौं । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको चक्रपथ विस्तारको दोस्रो खण्डको हालत झन विग्रँदै गएको छ । यसको विस्तृत अध्ययन र डिजाईनसँगै निर्माणसमेत गर्ने जिम्मा लिएको चिनियाँ पक्षले पछिल्लो करिव ५ बर्षदेखि नै आलटाल गरिदिँदा यो आयोजना निर्माण हुने आश नै हराईसकेको अधिकारीहरु बताउँछन् ।
त्यसैमाथि नेपाली पक्षले यो परियोजना निर्माणका लागि भन्दै साइट क्लियरिङको कामसँगै रुख कटान र भवन भत्काउने काम गरेपछि यो क्षेत्र धुलाम्य र हिलाम्य बन्ने गरेको छ । नेपाली पक्षबाट हुने काम सम्पन्न भएपछि डिपीआर तयार पारी निर्माको काम गर्ने भन्दै चीन गएको चिनियाँ टोली अझै फर्केको छैन । यसो हुँदा यो आयोजना अलपत्रजस्तै देखिएको छ । यसमाथि पछिल्लो समय चिनियाँ पक्ष सम्पर्कमै नरहेको खुलेको छ ।
नेपाली पक्षबाट हुनुपर्ने कामहरु सबै सम्पन्न भएको करिव २ बर्ष वित्यो । त्यतिमात्रै होइन नेपाली पक्षले साइडलेन निर्माण पनि करिव अन्तिम चरणमा पुर्याईसक्दा चिनियाँ पक्षबाट अझै ग्रिन सिग्नल नपाएको सडक विभागका अधिकारीहरु बताउँछन् ।
यसअघि पटकपटकको आग्रहलाई बेवास्ता गर्दै आएको चिनियाँ पक्षले गत मंसिरमा भएको प्रधानमन्त्रीको चीन भ्रमणले केहि काम हुने आशा गरिएको थियो । तर, त्यो भ्रमणलेसमेत काम नगरेको देखिन्छ ।
नेपालमा चीनले अघि बढाएको अनुदानका र ऋणका दर्जनौं आयोजनाहरु के हुने भन्ने विषयमा प्रधानमन्त्रीको भ्रमणमा चर्चा भने न्यून मात्रै भयो । देशको संघीय राजधानीका काठमाडौंको सबैभन्दा बढी सवारी गुड्ने चक्रपथअन्तर्गतको दोस्रो खण्डको विस्तारको कुरा त झन् हुनै पाएन ।
करिव ५ बर्षदेखि विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरिरहेको बताउँदै आएको चिनियाँ पक्षले हालसम्म पनि उक्त परियोजना अघि बढाउने प्रारम्भिक कामसम्म गर्न सकेको छैन । जसका कारण कलंकीदेखि महाराजगंजसम्म करीब साढे ८ किलोमिटर सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रुले पछिल्ला ५ बर्षदेखि हिलो र धुलोको कहर झेल्दै आउनुपरेको छ । त्यतिमात्रै होईन त्यो सडक आसपास पसल थापेर बसेका पसले, घर बनाएर बसेका नागरिकहरु पनि उत्तिकै प्रताडित छन् । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी ५ बर्षअघि नै निर्माण सम्पन्न गर्नेगरी काम गर्ने चिनियाँ पक्षले बताएको थियो ।
यसअघि २०७५ सालमा पहिलो खण्ड कोटेश्वरदेखि कलंकीसम्म निर्माण सम्पन्न गरेर दोस्रो खण्डको साइट क्लियर गर्न आग्रह गर्दै चिनियाँ ठेकेदारसहितको टोली चीन फर्केको थियो । यसबीचमा कोरोना महामारीलगायतका कारण देखाउँदै करिव डेढ बर्ष अघिमात्रै उक्त क्षेत्रको साइट क्लियरको काम नेपाली पक्षले सम्पन्न गरेको थियो । पहिलो खण्डमा साइट क्लियर नगरीकनै काम सुरु गरेको चिनियाँ पक्षले काममा बाधा झेल्नुपरेपछि दोस्रो खण्डको साइट क्लियर गर्ने जिम्मा नेपाली पक्षलाई दिएर चीन फर्कको थियो ।
सोहीअनुसार नेपाली पक्षले हालसम्म सडकको ३१ मिटर क्षेत्रमा पर्ने सबै संरचना हटाईसकेको छ । अर्थात साइट क्लियरको काम सम्पन्न भइसकेको पनि करिव २ बर्ष बित्यो । यस्तो हुँदा पनि वास्ता नगरेको चिनियाँ पक्षलाई यसपल्ट प्रधानमन्त्रीको चीन भ्रमणले केहि सहजीकरण गर्ने आशा गरिएका भएपनि वास्तविकतामा त्यो भएन ।
हुनत चीनलाई नेपालमा कम्युनिष्ट सरकार कम्फर्ट हुने बताईन्छ । तर, वास्तविकतामा त्यो नदेखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए । यद्यपी यो आयोजना निर्माणका लागि सूचना लिने, खबर गर्ने र पहल गर्ने निकाय भने मन्त्रालयका लागि नेपालस्थित चिनियाँ दूतावास हो । यो आयोजनाका लागि दूतावासमा भएको मान्छेसमेत सम्पर्कमा आउन छोडेको अधिकारीहरु बताउँछन् । यता सडक विभागका अधिकारी पनि आयोजनाको सहजीकरण र तिव्र कामका लागि कुरा गर्न चिनियाँ पक्ष सम्पर्कमा आउन नचाहेको बताउँछन् ।
यो आयोजनाका लागि कुरा अघि बढाउन आवश्यक चिनियाँ पक्ष नै सम्पर्कविहिन भएको सडक विभागका महानिर्देशक रामहरी पोख्रेलले बताए । पछिल्लो समय यहि आयोजनाका लागि विभागलेसमेत दुःख पाईरहेको बताउँदै उनले विभाग पनि सकेसम्म चाँडै यो आयोजना सम्पन्न गर्न पाए हुने भन्नेमा रहेको उनले बताए ।