Logo

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन, आन्दोलन रोक्ने सहमति

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन, आन्दोलन रोक्ने सहमति



काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली बनाएको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने उल्लेख छ ।

साथै मन्त्रालयले आन्दोलनरत पक्षलाई समेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग अपिल गरेको छ । आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले बताए । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गरेको उल्लेख छ ।

समस्या समाधानका लागि पहल अगाडि बढाइ दिन गृह मन्त्रालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको समेत गृह मन्त्रालयले जनाएको छ । सो समस्या बहुपक्षीय सरोकारसँग सम्बन्धित रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्