काठमाडौं । सिमेन्ट उत्पादन र आपूर्तिमा देखिएको समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विशेष बैठक सम्पन्न भएको छ। उद्योगमन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधि र निर्माण व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूबीच छलफल हुँदै महत्वपूर्ण सहमति भएको हो ।
छलफलमा सिमेन्ट उद्योगहरूले मागअनुसार सहज आपूर्ति सुनिश्चित गर्ने र उद्योग सञ्चालनमा भइरहेको विद्युत कटौती तथा लोडसेडिङ अन्त्य गर्न मन्त्रालयले पहल गर्ने सहमति जुटेको हो। साथै, दुवै पक्षले आ–आफ्ना चुनौती र समस्या मनन् गर्दै उत्पादन र विकास निर्माणका कार्यमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीका अनुसार, यस समझदारीले सिमेन्ट आपूर्ति समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।