Logo

काठमाडौं महानगरको सहरी योजना आयोगद्वारा ८४ परियोजनाको डीपीआर तयार, लागत १ अर्ब ६ करोड

काठमाडौं महानगरको सहरी योजना आयोगद्वारा ८४ परियोजनाको डीपीआर तयार, लागत १ अर्ब ६ करोड



काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको अवधिमा ८४ योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। सम्पदा, हरियाली, पार्क निर्माण, र पूर्वाधारसँग सम्बन्धित यी योजनाको कुल लागत १ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको छ।

बजेट तर्जुमा समितिको बैठकमा आयोगका सचिवलाय प्रमुख धनबहादुर बस्नेतले प्रगतिसँगै योजनाबारे जानकारी गराउँदै १८.६७ प्रतिशत वित्तीय प्रगति भएको तथ्यांक प्रस्तुत गर्नुभयो। काठमाडौं महानगरपालिकाले पुस १४ गते नगर सभाको १६ औं अधिवेशन आव्हान गरेको छ। बजेट तर्जुमा समितिले कार्यान्वयनमा कठिनाइ भएका कार्यक्रमहरूको समीक्षा गर्दै प्राथमिकताका योजनाका लागि संशोधन प्रस्तावमा छलफल गरिरहेको छ।

स्वास्थ्य क्षेत्रमा विनियोजित ८६ करोड ५७ लाख रुपैयाँमध्ये १४.४९ प्रतिशत खर्च भएको छ। २४ घण्टे निःशुल्क एम्बुलेन्स सेवाबाट ४ हजार ६७५ जनाले सेवा लिएका छन् भने विशेष पोलियो खोप ७६ हजार ९६२ बालबालिकालाई उपलब्ध गराइएको छ।

सम्पदा तथा पर्यटन क्षेत्रमा विनियोजित २ अर्ब ४८ करोड २८ लाख ८७ हजारमध्ये ९ प्रतिशत मात्र खर्च भएको छ। यस क्षेत्रमा १८ मूर्त सम्पदा योजना सम्पन्न भएका छन्। सामाजिक विकास विभागले ६४ करोड ९६ लाखमध्ये ५.५९ प्रतिशत मात्र खर्च गरेको छ।

वातावरण विभागले १० वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयन गरेको छ। पोखरी र पार्कहरूको सफाइ गरी जैविक मल उत्पादन गरिएको छ। ८ वटा नदीको सफाइका लागि १२० सरसफाइकर्मी परिचालन भएका छन्।

महानगरपालिकाको प्रशासनमा १६ विभाग, ३१ महाशाखा, र ५५ शाखा छन्। बजेट तर्जुमा समितिले खर्च बचत र कार्यान्वयन कठिन भएका कार्यक्रमलाई प्राथमिकता दिँदै संशोधन प्रस्ताव तयार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्