Logo

सम्झौता टिकाउन विकोईले बुझायो रोयल्टी, टावर निर्माणकार्य अघि बढ्ने

सम्झौता टिकाउन विकोईले बुझायो रोयल्टी, टावर निर्माणकार्य अघि बढ्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेक्का रद्द गर्ने चेतावनी दिएपछि काठमाडौं टावर निर्माणको ठेकेदार कम्पनीले सम्झौता टिकाउन राजस्व तिरेको छ । पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौं टावरको ठेकेदार कम्पनी जलेश्वर, स्वछन्द विकोइले काठमाडौं महानगरपालिकालाई ९८ लाख ३३ हजार ३ सय रुपैयाँ राजस्व तिरेको होे । यससँगै महानगरले कम्पनीलाई टावर निर्माणका लागि अनुमति दिएको छ ।

सम्झौता अनुसार गत चैत देखि काम शुरु गर्ने भएपनि हालसम्म काम शुरु नभएको भन्दै महानगरले विकोइलाई प्रगती विवरण बुझाउन निर्देशन दिएको थियो । महानगरपालिकाले साउन भित्र विवरण बुझाउन निर्देशन दिएको थियो । प्रगती विवरण नबुझाएको अवस्थामा ठेक्का रद्द गर्ने चेतावनी दिएपछि राजस्व तिरेको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।

काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीवीच भएको सम्झौता अनुसार कम्पनीले निर्माण अवधिभर बार्षिक ९८ लाख ३३ हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ । त्यस्तै निर्माण अवधि सम्पन्न भएलगतै भवनको १ करोड ७५ लाख र जग्गाको ७० लाख महानगरलाई राजस्व स्वरुप तिर्नुपर्ने छ ।

निर्माण अनुमति पाएको लामो समयसम्म पनि काम नभएपछि कम्पनीले पुरानो बसपार्कको टावर बन्ने क्षेत्रमा जस्तापाताको बार लगाएर मात्र राखेको छ । महानगरपालिकाले बारम्बार घचघच्याइरहँदा पनि कम्पनीले अझसम्म निर्माण शुरु नगरेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘जस्तापाताले बारेर राखेकोले कानुनी रुपमा काम गरेको देखिन्छ,’ काफ्लेले भने ‘कम्पनी विरुद्ध कदम चालिहाल्न नसकेकोले शुरुमा प्रगती विवरण माग गरेको हो ।’ करिव ४ महिना अघि महिना टावर बनाउन भन्दै बसपार्कको पार्किङ खुल्लामञ्चमा सारिए पनि हालसम्म निर्माणको काम नै शुरु भएकै छैन ।

यता ठेकेदार कम्पनीले जमिन खन्ने पाइलिङ मेसिन नेपालमा नपाइएकोले काम शुरु गर्न ढिलाई भएको भन्दै आएको थियो । जलेश्वर, स्वछन्द र विकोइका प्रवन्धक मनोज भेटुवालले पाइलिङ मेसिन भारतबाट ल्याउनुपर्ने भएकोले काम शुरु नभएको बताएका थिए ।

काठमाडौं महानगरपालिकाले यसअघि पनि चाँडै नै निर्माण कार्य शुरु नगरे पार्किङलाई पून बसपार्क सार्ने चेतावनी दिएको थियो । तर सो चेतावनी पछि पनि काम शुरु नभएपछि अहिले फेरी प्रगती विवरण पेस गर्न पत्राचार गरेको हो । महानगर र कम्पनीले २ बर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्