Logo

विमानस्थलको मल्टिस्टोरे पार्किङ भदौंमा संचालन, सपिङ मलदेखि स्पाको आनन्द लिन सकिने

विमानस्थलको मल्टिस्टोरे पार्किङ भदौंमा संचालन, सपिङ मलदेखि स्पाको आनन्द लिन सकिने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माणाधिन मल्टिस्टोरी पार्किङको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । पार्किङ निर्माणका अधिकांश काम सकिएको र निर्माता कम्पनी चाँडै नै सञ्चालनको तयारीमा रहेको टिआइएका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए । ‘आगामी डेढ महिनाभित्र पार्किङ सञ्चालनमा ल्याउने तयारी गरेको छ,’ उनले भने ।

निर्माता कम्पनीले गत जनवरी देखि सञ्चालनमा ल्याउने भनिए पनि नाकाबन्दीले गर्दा निर्माण कार्य नै रोकिएको थियो । जसले गर्दा संचालनकार्य रोकिएको थियो । पार्किङ विमानस्थल छिर्ने गोल्डेन गेटको साइडको खाली ठाँउमा निर्माण गरिएको हो । सो स्थानमा विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ बनाउन लागिएको हो ।

उपाध्यायका अनुसार अराइभलबाट सिधै कार पार्किङमा जान मिल्ने भएकोले विमानस्थलको अगाडी हुने भिडभाड कम गर्नुका साथै व्यवस्थित गर्न सकिने छ । अराइभलवाट यात्रु सिधै लिफ्टमार्फत कार पार्किङमा जान सक्नेछन् । मल्टिस्टोरे पार्किङमा ५ सय ५० ओटा गाडी अट्ने छ ।

टिआइएले रसुवा केडी भेन्चरलाई सो पार्किङ बनाउने जिम्मा दिएको थियो ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सो कम्पनीसँग ३० बर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो । सम्झौता अनुसार ३० बर्षपछि कम्पनीले सो पार्किङ त्रिभुवन विमानस्थललाई फिर्ता गर्नेछ । तर, कम्पनीले सो जग्गा प्रयोग गरेबापत मासिक भाडा र राजस्व  भने विमानस्थललाई बुझाउनुपर्ने प्रावधान छ ।

मल्टिस्टोरी पार्किङ दुई तलाको हुने छ । त्यस्तै पार्किङको वरिपरी रेष्टुराँ, पसल तथा स्पा हाउसहरु पनि स्थापना गरिने भएको छ । पसलमा नेपाली संस्कृति तथा परम्परा झल्कने सामग्रीहरु समेत उपलब्ध गराइने छ । सो मल्टिस्टोरेमा सञ्चालन गरिने रेष्टुराँहरुले दिने सेवा पनि अन्तरराष्ट्रिय स्तरको हुने महाप्रवन्धक उपाध्यायको  दावी छ ।
त्यस्तै सो पार्किङमा सपिङ सेन्टर पनि स्थापना गरिने छ । विदेशबाट आएकाहरुलाई किनमेलका लागि अन्त जान नपरोस भन्ने उद्देश्यका साथ सपिङ सेन्टर सञ्चालन गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL