Logo

निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन जारी, तेस्रो चरणमा निर्णायक आन्दोलनको चेतावनी

निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन जारी, तेस्रो चरणमा निर्णायक आन्दोलनको चेतावनी



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन विहिवार पनि जारी रह्यो । विहिवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरेका छन् ।

महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका हुन् । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा महासंघ सचिवालय अनामनगरबाट शुरु भएको जुलुश संसद् भवन नयाँ बानेश्वर अगाडि कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै संघीय सांसद तथा जसपा नेपालका नेता प्रकाश अधिकारीले व्यवसायीहरूका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । ‘काम लगाएर भुक्तानी नदिनु राज्यको ठूलो कमजोरी हो’ नेता अधिकारीले भने। महासंघका अध्यक्ष रवि सिंहले दोस्रो चरणको आन्दोलन सकिन लाग्दा समेत व्यवसायीहरूको माग पूरा गर्न राज्य उदासीन भएकाले तेस्रो चरणमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिए ।

महासंघका महासचिव रोशन दाहालले आन्दोलन व्यवसायीहरूको रहर नभई बाध्यता भएको बताए । कोण सभामा निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्ष छत्र लामा, निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादव, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशव लामिछाने, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्र, निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष टेकबहादुर मल्ल, निर्माण व्यवसायी संघ नवलपुरका निवर्तमान अध्यक्ष गोमा खण्डलु लगायतले राजधानी केन्द्रीत महासंघको आन्दोलन सफल नभएसम्म घर नफर्कने प्रतिबद्धता जनाए ।

व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।

महासंघको निर्देशन अनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न देशभरका हजारौ व्यवसायीहरू राजधानी आएको महासंघका प्रवक्ता समेत रहेका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले जानकारी दिए । दोस्रो चरणको आन्दोलन भोलि (शुक्रवार) सम्पन्न हुने घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL