Logo

म्याद सकिन ४ महिना रहँदा नागढुंगा नौविसे सुरुङको काम आधा मात्र सकियो, म्याद थप्न आयोजनाको दौडधुप

म्याद सकिन ४ महिना रहँदा नागढुंगा नौविसे सुरुङको काम आधा मात्र सकियो, म्याद थप्न आयोजनाको दौडधुप



काठमाडौं । काठमाडौं भित्रिने प्रमुख नाका थानकोटमा निर्माणाधिन सुरुङमार्गको काम आधा सकिएको छ । नागढुंगा नौविसे सुरुङमार्ग आयोजनाका अनुसार आयोजनाको काम हाल ४९.०३ प्रतिशत सम्पन्न भएको हो । २०७६ को कार्तिकमा ४४ महिनामै अर्थात २०८० को असारसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति सोचेभन्दा ज्यादै न्युन भएको देखिएको हो ।

आयोजनाका अनुसार काम सुरु भएको ३९ महिनासम्म आयोजनाको मुख्य सुरुङमार्ग १ हजार ८ सय १३ मिटरमात्रै खनिएको छ । अर्थात निर्माण सम्पन्न गर्नेबेलासम्म २ हजार ६ सय ८८ मिटर खनिसक्नुपर्ने उक्त सुरुङमार्गको प्रगति पनि भनेबमोजिम भईसकेको छैन ।

कोरोना महामारी र जग्गा मुआब्जाको विवादका कारण काम सुस्त भईरहेको बताएको आयोजनाले सहायक सुरुङमार्ग पनि हालसम्म जम्मा २ हजार ६९ मिटर मात्रै खनेको छ ।

आयोजनाका अनुसार सहायक र मुख्य गरी सुरुङमार्ग मात्रै ५ हजार ४ सय ९९ मिटर खन्नुपर्नेमा हालसम्म यसको प्रगति ७४ दशमलव २ प्रतिशत अर्थात ४ हजार ८३ मिटर खनिएको छ ।

काठमाडौं भित्रिनका लागि बनाउन लागिएको उक्त सुरुङमार्गमा दुईओटा सुरुङमार्ग हुनेछन् । एउटामा सवारीसाधन गुड्नेछन् भने अर्काे ईभ्याकुएसन्सँगै सुरुङभित्र विग्रेका सवारीसाधनलाई सुरक्षितसँग बाहिर ल्याउने काममा प्रयोग गरिनेछ ।

आयोजनाले दुवै सुरुङलाई जोड्नका लागि सुरुङमार्गको बीचबीचमा क्रस प्यासेज पनि बनाउँदै आएको छ । काठमाडौं र नागढुंगा दुबैतर्फबाट खन्न सुरु गरिएको सुरुङमार्गमा हालसम्म क्रस प्यासेजका लागि १ सय २८ मिटर खन्नुपर्नेमा ७४.२० मिटर खनिएको छ । वर्किङ अडिटको काम भने सम्पन्न भईसकेको आयोजनाले जानकारी दिएको छ ।

यस्तै आयोजनामा सुरुङमार्ग र मुख्य सडकसम्म पुग्नका लागि आवश्यक फ्लाईओभर पनि बनाउनुपर्नेछ । जसका लागि आवश्यक जग्गामध्ये हालसम्म ९५ प्रतिशत जग्गाको एकिन भएर २ ओटा फाउन्डेसन पनि हालिसकिएको छ । तर जग्गाधनीलाई बुझाउनुपर्ने मुआब्जा भने अझै बुझाउन नसकिएको आयोजनाले जानकारी दिएको छ । अर्थमन्त्रालयले जग्गा मुआव्जाका लागि आवश्यक रकम निकासा नगरिदिँदा फ्लाईओभर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न नसकिएको आयोजनाका अधिकारीहरुले बताएका छन् ।

फ्लाईओभर निर्माणका लागि आयोजनाले २ ओटा फाउन्डेसनसँगै २ ओटा सवस्ट्रक्चर पनि तयार पारिसकेको छ ।
यस्तै आयोजनाले सुरुङलगायत अन्य भौतिक संरचना जस्तै कल्भर्ट, अन्डरपास, ओभरपास र पुलको निर्माण भने सम्पन्न गरिसकेको छ । आयोजनालाई सुरुङसँगैे एउटा ओभरपास, ३ ओटा अन्डरपास र ४ ओटा बक्स कल्भर्ट बनाउनुपर्ने थियो ।
आयोजनाले समयमै अर्थात आगामी असारसम्म काम सम्पन्न नहुने देखिएपछि सडक विभागलाई म्याद बढाउनका लागि सिफरिससमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्