Logo

चिनियाँ ठेकेदारहरु नेपाल आउन ढिलाई, चिनियाँले ठेक्का पाएका महत्वपूर्ण नेपाली आयोजना अलपत्र

चिनियाँ ठेकेदारहरु नेपाल आउन ढिलाई, चिनियाँले ठेक्का पाएका महत्वपूर्ण नेपाली आयोजना अलपत्र



काठमाडौं । आइतबारदेखि चिनियाँ सरकारले राजधानी बेइजिङमा कोरोना नियन्त्रणका लागि लगाईएका प्रतिवन्धहरु खुकुलो पार्ने निर्णय गरेको छ । हाल बेइजिङमा मात्रै कोरोना संक्रमितको संख्या घटेपछि प्रतिबन्धहरु खुकुलो पारेपनि अन्य प्रान्त र जिल्लाहरुको अवस्था भने खराव नै छ । धेरैजसो क्षेत्रहरुमा अझैपनि विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिविनै पठनपाठन भइरहेको छ भने होटल तथा रेष्टुरेन्टहरुमा टेक अवे प्रणाली लागु गरिएको छ । विदेशी नागरिकहरुलाई कडाई छ । विदेशमा जाने नागरिकहरुका लागि पनि लामो प्रक्रिया पुरा गर्नुपर्ने बाध्यता छ । विदेशबाट हुने हवाई उडानमा समेत चार्टर्डबाहेकलाई प्रतिवन्ध छ ।

विश्वभर कोरोनालाई सामान्य रुपमा लिएर कामकारबाहीहरु सुचारु भईसकेपनि चीनमा यसको कडाई बाँकी हुँदा विश्वभर चिनियाँ ठेकेदार कम्पनीले जिम्मा लिएका ठुलादेखि साना आयोजनाहरुको काम प्रभावित बनिरहेको छ । खासगरी चिनियाँ ठेकेदार कम्पनीहरुले कम लागतमा गुणस्तरीय निर्माण सेवा उपलब्ध गराउने भन्दै नेपाललगायत विभिन्न देशका परियोजनामा हात हालेका छन् । नेपालमा कोरोना अघि नै सुरु भई निर्माणाधीन आयोजनाहरु केहि अलपत्र परेका छन् भने केहिमा चिनियाँ ठेकेदारहरुले आउने आश्वासन दिइरहेका छन् ।

नेपालमा चिनियाँ ठेकेदार कम्पनीले कामको जिम्मा लिएका काठमाडौं तराई द्रुतमार्ग, सिद्धबाबा सुरुङमार्ग, नारायणगढ बुटवल हाईवे विस्तार, सुनकोसी मरिन डाईभर्सन, पोखरा अन्तरराष्ट्रिय विमानस्थल, दैलेखमा पेट्रोलियम खानी अन्वेषण, चक्रपथ विस्तारको दोस्रो खण्डलगायतका परियोजनाहरु छन् । यी परियोजनाहरुमध्ये कतिपय स्थानमा कोरोना कालमा स्वदेश नफर्केका चिनियाँ कामदार र ठेकेदारले काम गरिरेहका छन् भने स्वदेश फर्केका ठेकेदारहरु अझै नआईदिँदा परियोजनाहरुको भविष्य नै अन्यौलनमा पर्नसक्ने संकेत उत्पन्न भएको छ ।

जसमा काठमाडौंको चक्रपथ विस्तारको दोस्रो खण्ड र दैलेखमा पेट्रोलियम खानी अन्वेषण आयोजनाहरु भने चिनियाँ ठेकेदार नफर्किँदा अन्यौलको अवस्थामा छन् । काठमाडौंकै कुरा गर्दा पहिलो खण्डको काम सम्पन्न गरी दोस्रो खण्डको चक्रपथ विस्तारको डिपीआर निर्माण गर्ने भन्दै चीन फर्केको चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन करिव साढे ३ बर्षदेखि नेपाल आएको छैन । पटकपटक नेपालले कुटनीतिक पहल गरेपनि विभिन्न बहाना बनाउँदै कम्पनीले नेपाल आउन आलटाल गरिरहेको छ ।

नेपाल पक्षले बेलाबेलामा निर्माण कार्य सुरु गर्नका लागि आउनेबारे जिज्ञासा राख्दै आएको थियो । उक्त जिज्ञासामा चिनियाँ पक्षले भने कहिले कोरोनाको डर, कहिले साइट क्लियर नभईसकेकोलगायतका बहाना बनाउने गरेको थियो । तर, नेपाल पक्षले करिव ३ महिना अघि नै साईट पुर्णरुपमा क्लियर भईसकेको खवर पठाएपनि हालसम्म कहिले आउने टुंगो नलागेको सडक विभागले जानकारी दिएको छ ।

विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपालका अनुसार हालसम्म पनि चिनियाँ पक्ष आउने, नआउने वा कहिले आउने कुनै खबर प्राप्त भएको छैन । ‘हामीले परराष्ट्र मन्त्रालय र चीनको राजदूताबास मार्फत सूचना पाउने हो,’ उनले भने, ‘धेरैपटक सोधि पनि सकेका छौं, तर, कहिले आउने भन्ने टुंगो लागेको खबर हालसम्म आएको छैन ।’

दैलेखमा पेट्रोलियम खानी अन्वेषण परियोजनाको अवस्था पनि यस्तै छ । करिव साढे २ वर्षदेखि अन्यौलमा परेको उक्त परियोजनाको म्याद पुनः २ बर्ष थपिएको करिव ३ महिना वितिसक्यो । अझै पनि चिनियाँ टोली आउने टुंगो नलागेको खानी तथा भुगर्भ विभागस्थित पेट्रोलियम अन्वेषण शाखाका प्रमुख दिनेश कुमार नापितले बताए । उनका अनुसार दैलेख नाभीस्थान, श्रीस्थानमा गरिने पेट्रोलियम पदार्थ उत्खननका लागि नेपाल र चिनियाँ पक्षसँग द्विपक्षिय समझदारीसँगै अन्वेषणको बाटो खुलेपनि हाल यसको अन्तिम अन्वेषण(ड्रिलिङ सर्भे) भने अन्यौलमा परेको हो ।

सम्झौतासँगै चिनियाँ जिओलजीकल सर्भे टोलीले उक्त स्थानमा सेस्मिक सर्भे र म्याग्नेटो टेलिक सर्भेको काम अघिल्लो लकडाउन अगावै सम्पन्न गरेको थियो । उक्त अध्ययन खासगरी पेट्रोलियम पदार्थको अवस्था र छ या छैन भन्ने पत्ता लगाउन गरिन्छ । चिनियाँ टोलीले लकडाउन अगावै जमिनमाथी गरिने विभिन्न सर्भे गरेर त्यसको तथ्यांक विश्लेषण गर्ने भन्दै चीन फर्किएको करिव साढे २ वर्ष पुगिसकेको छ । कोरोना महामारी रे लकडाउनका कारण चिनियाँ टोली अझै आउन नसकेपछि अब गरिने ड्रिलिङ सर्भेको काम भने अन्यौलमा परेको हो ।

सो आयोजनाको अन्वेषण गर्ने म्याद ४ महिना अघि सकिएको थियो । तर, सरकारले बीचमा कोरोना महामारीका कारण ढिलाई भएको भन्दै २ बर्ष थप म्याद थपिदिएको छ । म्याद थपेको ३ महिना वितिसक्दा पनि चिनियाँ पक्षको टुंगो नलागेको नापित बताउँछन् । यसअघि बेलाबेलामा खानी तथा भुगर्भ विभागले चिनियाँ टोलीलाई नेपाल आएर ड्रिलिङ सर्भेको काम अघि बढाउन आग्रह गरेपनि कोरोनाको कारण देखाउँदै आउन अप्ठ्यारो हुने बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL