काठमाडौं । काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ ।
वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार ३ करोड ५० लाख लगानीमा उद्यान निर्माण गरेर ११ ठाउँका गरी करिब ५० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । नयाँबानेश्वर, छक्कुबक्कु, जोगीकुटी, संयुक्त राष्ट्रसङ्घीय उद्यान (युएन पार्क), सेतो गणेशस्थानसँगैको स्थललगायत स्थानको सार्वजनिक जग्गा वडाको नेतृत्वमा संरक्षण भएको हो ।
सार्वजनिक जग्गा संरक्षणका लागि यस क्षेत्रबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले समेत सहयोग गरेको वडा कार्यालयले जनाएको छ । मन्त्री श्रेष्ठले प्रदेशसभा सदस्यका रूपमा मात्र प्रतिनिधित्व गर्दा पनि सार्वजनिक जग्गामा रोपेको मकै काटेर उद्यान निर्माण गर्ने कामको नेतृत्व गरेका थिए । विभिन्न विद्यालय एवं व्यक्तिले मिचेका बागमती र रुद्रमती नदी किनारका जग्गा खाली गर्न पनि मन्त्री श्रेष्ठले आफैँ स्थलगतरूपमा खटेर सहयोग गरेका छन् ।
विभिन्न व्यक्ति एवं संस्थाले मिचेका करिब २० रोपनी जग्गा भने अझै संरक्षणमा ल्याउन नसकिएको वडाध्यक्ष केसीले बताए । ती जग्गा पनि संरक्षण गर्ने गरी वडा कार्यालयले योजना बनाइसकेको छ । संरक्षण गरिएका र गर्न बाँकी जग्गामा बनेको उद्यानलाई भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने गरी खुला स्थलका रूपमा विकास गरिएको छ ।रासस