Logo

सडक विभाग र विद्युत प्राधिकरणबीच आरोप प्रत्यारोप, रोकियो मुख्य सडकमा तार भूमिगत गर्ने कार्य

सडक विभाग र विद्युत प्राधिकरणबीच आरोप प्रत्यारोप, रोकियो मुख्य सडकमा तार भूमिगत गर्ने कार्य



काठमाडौं । पछिल्लो समय नेपाल विद्युत प्राधिकरण र सडक विभागबीचको वादविवादका कारण विजुलीको तार भूमिगत गर्ने कार्य प्रभावित भएको छ । तिव्रत्तर रुपमा अघि बढिरहेको विजुलीका तार भूमिगत गर्ने कार्यलाई सडक विभागले बाधा पुर्याएको प्राधिकरण बताउँदै आएको छ । यता सडक विभाग भने प्राधिकरणले सर्तमा तोकेबमोजिम काम नगरेको भन्दै मुख्य सडकहरुमा खनेर तार विछ्याउन नदिएको बताउँदै आएको छ ।

प्राधिकरणले हालसम्म भित्री र सहायक सडकहरुमा विदुतीय तार भूमिगत गर्ने कार्य करिव करिव सम्पन्न गरिसकेको छ । यस्ता सडकमा ट्रान्समिसन बक्स राख्ने काम भईरहेकाले केहि दिनमै यस्तो काम सकिने तरखरमा छ । तर, सडक विभागले गोंगबु देखि चावहिल, एयरपोर्टदेखि माईतिघर, दरवारमार्ग, रत्नपार्क, जमललगायतका क्षेत्रमा काम गर्ने अनुमति नदिँदा हाल काम रोकिएको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई बताउँछन् । उनका अनुसार प्राधिकरण र सडक विभाग नै एकआपसमा छलफलमा नवस्दा मुख्य सडकमा तार विछ्याउने बारे टुंगो लागिसकेको छैन ।

उपत्यकाका हरेक स्थानका विद्युतीय तारहरुलाई भूमिगत गर्नेगरी अघि बढेको काममा सडक विभागले सहमति नदिँदा काम रोकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि बताउँछन् ।

प्राधिकरणले सडक विभागले भनेजस्तै सर्तमा काम गर्न तयार भएको बताएपनि काम गर्नेगरी अनुमति दिईएको छैन ।
प्राधिकरणका उप कार्यकारी निर्देशक तारा प्रधानका अनुसार अन्य क्षेत्रमा काम अन्तिम चरणमा पुगेपनि मुख्य सडकमा भने विभागको सहमति नहुँदा काम अघि बढाउन सकिएको छैन ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास गर्नेबेला सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएपनि बीचमा मुख्य सडकहरुमा भने पहिलेको सहमतिले काम नगर्ने र पुनः सहमति लिनुपर्ने बताउँदै आएको छ ।

यता प्राधिकरणले पनि उक्त आयोजना शिलान्यास गर्ने बेलामा सहमतिमा होरीजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका कुराहरु राखेको थियो ।

हाल प्राधिकरणले आफैले गरेको सहमति अनुसार काम गर्न नसकेपछि र सडक अलपत्र पारिदिएपछि मुख्य सडक खन्न नदिएको सडक विभागका प्रवक्ता शिव प्रसाद नेपाल बताउँछन् । उनका अनुसार धेरै सडकहरु प्राधिकरणकै कारण बर्खामा हिलो र हिउँदमा धुलो हुने अवस्थामा पुगेका छन् । त्यसको दोष सिधै सडक विभागमा जान्छ । अर्थात यसरी सडक अलपत्र पारिदिँदा सम्बन्धित सरोकारवालाहरुले विभागमाथि औंला उठाउँछन् । यस्तो हुने अवस्था पुनः नआओस भन्नका निम्ति प्राधिकरणसँग नयाँ शर्तसहित अनुमति दिने तयारी गरिएको छ ।

काठमाडौंका मुख्य सडकहरुमा तार भूमिगत गर्नका पुरानै सर्तहरुसहित ब्लक बाई ब्लक गरेर खन्ने, एक ब्लक भूमिगत गरी सकेर सडक पुरीसकेपछि अर्काे ब्लक खन्ने, सडकमा फोहोर नगर्नेलगायतका बुँदाहरुमा २ पक्षबीच छलफल भईरहेको छ । तर, यसअघि खनिसकिएका स्थानमा पनि तार, र सडक लथालिंग भएकाले पहिले त्यो सफा गर्न विभागले प्राधिकरणलाई आग्रह गरेको छ ।

यसबाहेक पनि विभागले अन्य केहि सर्त राखेकाले सहमति जुट्न नसकेको प्राधिकरणका उपकार्यकारी निर्देशक तारा प्रधान बताउँछन् । काठमाडौं बाहिर पनि सडक विस्तार भईरहेका स्थानहरुमा विजुलीका पोलहरु सार्नुपर्र्ने सर्तसमेत विभागले प्राधिकरणसमक्ष राखेको छ । जसका कारण सहमति जुट्न केही समय लागिरहेको उनको भनाई छ । ‘सडक विभागले विभिन्न सर्तहरुसहित मुख्य सडकहरुमा तार भूमिगत गर्न दिने बताएको छ,’ उनले भने, ‘ती सर्तहरुसहित अर्काे एउटा सर्त तोकेकाले सहमतिमा केहि ढिलाई भएको हो ।’

यी सर्तहरु पुरा गर्न प्राधिकरण मञ्जुर भएमा सडक विभागले प्राधिकरणलाई मुख्य सडकहरुमा पनि तार भूमिगत गर्ने सहमति दिनेछ । प्राधिकरणले विजुलीका तारहरु पोलमा झुण्डीदा शहरी सौन्दर्यतामा खलल पुगेको भन्दै यस्ता तारहरु भूमिगत गर्ने कार्य अघि बढाएको थियो । काम अघि बढाएको २ बर्ष वितिसकेपछि मुख्य सडकमा तार भूमिगत गर्ने कार्यमा अड्चन आएको हो ।

प्राधिकरणले हाल काठमाडौंका कलंकी, रत्नपार्क, महाराजगंज, चावहिल, भक्तपुर र ललितपुर वितरण केन्द्र अन्तर्गतका स्थानमा पनि विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढाएको छ । यस्तै उपत्यका बाहिर भरतपुर र पोखरामासमेत तार भूमिगत गर्नका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL