काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्सतर्फका उम्मेदवार शौरभ ज्योतिले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार चन्द्रप्रसाद ढकाललाई समर्थन गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।
उपाध्यक्षका प्रत्यासी ज्योतिले उम्मेदवारी फिर्ता गरेसँगै ढकाल निर्विरोध एशोसिएट्तर्फका उपाध्यक्ष भएका छन् । उम्मेदवारी दर्ताको समय सोमबारसम्म भएपनि एशोसिएट्स उपाध्यक्षमा अरु व्यक्तिले उम्मेदवारी नदिने निश्चित भएको छ ।
महासंघलाई एक ढिक्का बनाएर लैजान आफुले उम्मेदवारी फिर्ता गर्दै ढकाललाई समर्थन जनाएको ज्योतिले बताए । ‘यस अघि पनि महासंघलाई शसक्त बनाउन स्वतन्त्र रुपमा एशोसिएट्सबाट उम्मेदवारी घोषणा गरेको थिए,’ उनले भने, ‘सम्पूर्ण साथीहरुसँगको सल्लाहपछि महासंघकै लागि उम्मेदवारी फिर्ता गर्दै ढकाललाई समर्थन गरेको हुँ ।’ ज्योतिले उपाध्यक्षबाट उम्मेदवारी फिर्ता गरेसँगै उनले एशोसिएट्सबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी एशोसिएट्सतर्फबाट उपाध्यक्षका उम्मेदवार ढकालले पनि ज्योतिले आफ्नो फिर्ता गर्दै महासंघलाई एक ढिक्का बनाएर लैजना सहयोग गरेको बताए ।