Logo

कोरोना बीमाको अहिलेसम्म ४ अर्ब ६६ करोड भुक्तानी, ३६ हजार बढीको फाइल प्रक्रियामै

कोरोना बीमाको अहिलेसम्म ४ अर्ब ६६ करोड भुक्तानी, ३६ हजार बढीको फाइल प्रक्रियामै



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) अन्तर्गतको कोरोना बीमा दावी भुक्तानी लिनेको संख्या बढेको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार शुक्रबारसम्म नेपालभर ४८ हजार ६९ जना संक्रमितको कोरोना बीमा दावी भुक्तानी भएको छ ।

सोवापत संक्रमितहरुलाई ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी गरिएको हो । समितिका अनुसार हालसम्म ८४ हजार ८ सय ७४ फाईलहरु कोरोना बीमा दावी भुक्तानीका लागि प्राप्त भएका छन् । त्यसमध्ये ८४ हजार बढीले रकम पाएको र बाँकी प्रक्रियामा रहेका छन् ।

समितिका अनुसार ३ हजार १ सय १२ ओटा दावी स्विकृतिको चरणमा छन् भने १० हजार ९ सय ४६ ओटा दावीहरु इपीडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)मा रहेका छन ।
बीमा समितिले गत बैशाख ७ देखि नेपाल पुनर्बीमा कम्पनीसँगको सहकार्यमा कोरोना बीमा सेवा ल्याएको थियो । उक्त सुविधा अनुसार विमितले ५० हजार १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्न पाउने व्यवस्था थियो । विमितले ५० हजारको बीमा गर्दा ५ सय रुपैयाँ र १ लाखको गर्दा १ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने व्यवस्था छ ।

तर बीमा गर्नेहरुको संख्या बढ्दै जाँदा बीचमा बीमा समितिले यो सुविधालाई स्थगनसमेत गरेको थियो । बीमा कम्पनीहरुको पूँजीभन्दा बढी दायित्व हुन आउने देखिएपछि समितिले बीमक संघसँगै मिलेर यसलाई स्थगन गरेको थियो । तर कोरोना बीमा दावी भुक्तानीको दायित्व सरकार, बीमा समिति, पुनर्बीमा कम्पनीलाई बाँडफाँड भएपछि पुनः यसलाई सुचारु गरिएको थियो ।

दावी भुक्तानीको दायित्व बाँडफाड अन्तर्गत पहिलो १ अर्ब रुपैयाँसम्मको भुक्तानी पूलअन्तर्गत हुने व्यवस्था छ । त्यस्तै, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्मको दायित्व पुनर्बीमा कम्पनीले व्योहोर्नेछ । यसैगरी २ अर्बदेखि २ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा कम्पनीको महाविपत्ती कोषबाट बहन गर्ने प्रावधान छ ।

त्यस्तै, २ अर्ब ५० करोड रुपैयाँमाथि ३ अर्ब ५० करोडसम्मको दावी भुक्तानीको दायित्व बीमा समितिको हो । त्यसभन्दा माथिको दावी परेपछि भुक्तानीको सम्पूर्ण दायित्व सरकारले व्योहोर्ने व्यवस्था छ ।

हाल कोरोन बीमाको दावी भुक्तानी ४ अर्ब ६६ करोड पुगिसक्दा यसको दायित्व सरकारमा गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL