Logo

भुकम्प र बन्दले तामाकोशीको निर्माणकार्य लम्बियो, अझै ३ वर्ष लाग्ने

भुकम्प र बन्दले तामाकोशीको निर्माणकार्य लम्बियो, अझै ३ वर्ष लाग्ने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । गत बैशाखका आएको शक्तिशाली भुकम्प तथा हाल भइरहको बन्द हड्तालले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणकार्य लम्बिएको छ । तत्काल देशमा भइरहेको बन्द हड्ताल नरोकिएने हो भने उक्त आयोजनाको निर्माणकार्य सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले बिजखबरलाई बताए । ‘हामीले भुकम्प पश्चात पनि १ वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘बन्दहड्तालले गर्दा न्युनतम २ वर्षदेखि ३ वर्षसम्म लाग्ने भएको छ ।’

काफ्लेका अनुसार भुकम्प पश्चात परियोजना निर्माण कार्य शुरु गरिएको थियो । तर, बन्दले गर्दा सम्पूर्ण निर्माणकार्य ठप्प भएको छ । समय लम्बिएसँगै परियोजनाको लागत खर्च समेत बढ्ने भएको छ । समय लम्बिएसँगै ठेकेदारलाई दिनुपर्ने रकम, समयमै बिद्युत उत्पादन हुन नसक्दा पर्ने भारजस्ता खर्च हरु बढ्ने देखिएको छ । बन्दले गर्दा आवश्यक मालसामान ढुवानी गर्न नसक्नुका साथै पेट्रोलियम पदार्थ अभावले गर्दा परियोजना निर्माणका लागि मेशिनहरु समेत संचालन गर्न नसकिएको काफ्लेले जानकारी दिए ।

निर्माणाधिन ४ सय ५६ मेगावाटको उक्त आयोजनाको निर्माणकार्य लम्बिएसँगै तत्काल लोडसेडिङ कम हुने सम्भावना समेत टरेको छ । प्राधिरणले उक्त परियोजना संचालनमा आएसँगै वर्षातको सिजनमा लोड सेडिङ हट्ने बताउँदै आएको थियो ।

परियोजनाको निर्माणकार्य लम्बिदा कर्मचारी संचयकोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष र विद्युत प्राधिकरणकै कर्मचारी समेत समस्यामा पर्ने भएका छन् । उनीहरुले उक्त आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको सेयर लगानी गरिसकेका छन् । परियोजना लम्बिएसँगै उनीहरुले पाउने तत्काल पाउने प्रतिफलको सम्भावना समेत टरेको प्राधिकरणले जानकारी दिएको छ । विवादका कारण आयोजनाले दोलखावासी र सर्वसाधारणका लागि भने सेयर जारी गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL