Logo

सिजनमै सुनसान तारे होटल, इन्धन अभावले सुविधा कटौती

सिजनमै सुनसान तारे होटल, इन्धन अभावले सुविधा कटौती


रक्षा रेग्मी
0
Shares

काठमाडौं । गत बर्ष यस सिजनमा भरिभराउ हुने तारे होटल अहिले सुनसानप्राय छ । पर्यटक भित्रने मुख्य सिजन भएपनि हाल उपत्यका तथा बाहिरका तारे होटलमा कमै मात्र पर्यटक देख्न पाइन्छ ।

अघिल्ला बर्षहरुमा नोभेम्वर र डिसेम्वरमा तारे होटलका कोठाहरुको प्रयोग (अकुपेन्सी) ८० देखि ९० प्रतिशतसम्म हुनेमा अहिले पुरै घटेको एशोसियशन नेपाल हानका कार्यकारी निर्देशक प्रवेश अर्यालले बताए । ‘अहिले तारे होटलमा मुस्किलले २० देखि २५ प्रतिशत कोठाहरु मात्र बुक भएका छन्,’ उनले भने, ‘त्यही पनि घुम्न आउने पयटक नभइ राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैर सरकारी नियकामा काम गर्ने कर्मचारी र कुटनीतिक निकायका कर्मचारीहरु हुन् ।’

इन्धन अभावका कारण होटलहरुले आफ्नो सेवा तथा सुविधामा कटौती गरेकाले पनि पर्यटक नआएको उनले जानकारी दिए । ‘ग्याँस तथा पेट्रोलियम पदार्थको अभावमा होटलहरुले आफ्नो मेनु देखि अन्य सुविधामा समेत कटौती गरेका छन्,’ उनले भने, ‘त्यसले गर्दा पनि पर्यटकहरु नआएका हुन् ।’ ग्याँस अभावले तारे होटलले ३० प्रतिशतभन्दा बढी मेनु कटौती गरेको अर्यालले जानकारी दिए ।

होटलमा लिफ्ट, एयर कण्डिशनलगायतका सुविधा समेत कटौती गरेर इन्धन संकट व्यवस्थापन गरिएको हानका महासचिव तथा एर्यरपोर्ट होटलका प्रवन्ध निर्देशक विनायक शाहले बताए । इन्धन अभावले गर्दा मेनु कटौती गर्नुको विकल्प छैन,’ उनले भने, ‘ अन्तरराष्ट्रिय जगतमा नराम्रो सन्देश जाने डरले मेनु कटाएर भएपनि पर्यटकलाई सुविधा दिइरहेका छौं ।’ हाल पर्यटकहरुले होटलमा आफुले चाहेको जस्तो परिकार खान पाउने अवस्था छैन ।

व्यवसायीहरुले होटल संचालन गरेपनि पर्यटक नआएको उनले जानकारी दिए । हाल पर्यटक विना होटल चलाउनु परेको उनको गुनसो छ । ‘गत वर्षहरुमा यो सिजनमा नेपाल घुम्नका लागि पर्यटकहरु ग्रूपमा आउथे,’ उनले भने, ‘तर, यसपटक कामका लागि आउने विदेशी पर्यटक मात्र छन् ।’

भूकम्पपछि बिस्तारै तंग्रिदै गरेको होटल व्यवसाय भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले पूनःसंकटमा परेको छ । यही अवस्था रहेमा तारे होटलहरु जुनसुकै बेलामा बन्द हुन सक्ने व्यवसायीहरु बताउँछन् । ‘अहिले होटल तथा रेष्टुराँले मेनु कटौती गरेर भनेपनि सुविधा दिइरहेका छन्,’ शाहले भने, ‘यही अवस्था रहयो भने बन्द गर्नुको बिकल्प छैन ।’

पर्यटन व्यवसायीले होटललाई इन्धन उपलब्ध गराउन वाणिज्य तथा आपूर्तिमन्त्री पटक–पटक आग्रह गर्दै आएका छन् । त्यसैगरी, यसको समन्वय गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई समेत भेटिसकेका छन् । भोटमा सरकारी पक्षबाट मौखिक आश्वासन पाए पनि इन्धन उपलब्ध नगराएको व्यवसायीहरुको गुनासो छ । साथै यस्तो अवस्थामा सरकारले कोटा अवधारणा अनुरूप होटलहरूलाई इन्धन उपलब्ध गराउनुपर्ने हानको माग छ ।

प्रतिक्रिया दिनुहोस्