Logo

सेयरधनीलाई वितरण गरेको लाभांशमा अर्थले हस्तक्षेप गरेपछि नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजिनामा

सेयरधनीलाई वितरण गरेको लाभांशमा अर्थले हस्तक्षेप गरेपछि नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजिनामा



काठमाडौं । नेपाल बैंकको अध्यक्ष वासुदेव अधिकारीले पदबाट राजिनामा दिएका छन् । बैंकको साधारणसभाबाट प्रस्तावित लाभांस अर्थ मन्त्रालयले असहमति जनाएपछि बैंकका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री विष्णु पौडेल समक्ष राजिनमा दिएका हुन् ।

यस अघि नेपाल बैंकले बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) अन्तरगत राष्ट्र बैंकबाट स्वीकृत गराएर लगानीकर्तालाई कूल १६ प्रतिशत लाभांस (१२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस) पारित गरेको थियो । सो विषयमा बैंकले अर्थमन्त्रालयलाई पनि जानकारी गराएको थियो । तर, अर्थमन्त्रालयले साधारणसभाले भएर उक्त बोनस पारित गरिसक्दा पनि कुनै जानकारी नदिई हाल आएर साधारणसभाले स्वीकृत गरेको लाभांस घटाएपछि अध्यक्ष अधिकारीले राजिनमा दिएका हुन् ।

‘मैले अर्थमन्त्री समक्ष यस अघि कुनै पनि संस्थाको सर्वोच्च निकाय साधारणसभाले पारित गरिसकेको लाभांश घटाउन सक्दिन यदि घटाउने नै हो भने म सक्दिन अरु कुनै व्यक्ति खोज्नुस भनेर जानकारी गराएको छु,’ बैंक संचालक समितिका अध्यक्ष अधिकारीले भने बिजखबरसँगको कुराकानीमा भने, ‘नेपाल बैंकले नियामक निकाय राष्ट्र बैंक वाफिया अन्तरतग लाभांस स्वीकृत गराएर लगानीकर्तालाई वितरण गरेको छ यसमा कम्पनी ऐन अन्तरगतको प्रशासनिक ऐनले कुनै बाधा पुर्याउँदैन ।’

अहिले जसरी बैंकको साधारणभाले स्वीकृत गरेको लाभांश अर्थ मन्त्रालयले घटाउन खोज्दै छ यसले उहाँहरुले बैंकिङ सिस्टम नै नबुझेको भन्ने स्पष्ट संकेत गर्ने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष अधिकारीले बताए । ‘अर्थ मन्त्रालयले नेपाल बैंकलाई अन्य सार्वजनिक संस्थानको स्तरमा राखेर हेरेको देखियो,’ उनले भने, ‘यो पूर्ण सरकारी स्वामित्व नभई सर्वसाधारण जनताको लगानी रहेको संस्था भएको र यसलाई लगानीकर्ताको हितका लागि कानुनको परिधिभित्र रहेर बैंकलाई प्रतिस्पर्धी रुपमा अघि बढ्न दिनुपर्छ ।’

नेपाल बैंकले गत आर्थिक बर्षको नाफाबाट मात्र नभई यस अघि सर्वसाधारलाई एफपीओ जारी गर्दा आर्जित रकमबाट लाभांश वितरण गरेको थियो । बैंकले यस अघि एफपीओ जारी गर्दा सर्वसाधारणबाट ४ अर्ब ९५ करोड रुपैयाँ रकम प्रिमियम वापत संकलन गरेको थियो ।

साथै सरकारले मौखिक वा आफुलाई अनुकुल हुने व्यवस्था भन्दा पनि कानूनी रुपमा चल्नु पर्ने नेपाल बैंक उच्च स्रोतले जानकारी दिएको छ । ‘हामीले कानूनी प्रक्रिया पुरा गरेर नियामक निकायबाट स्वीकृति पाएपछि मात्रै साधारणसभाबाट पारित गराएर सेयरधनीलाई लाभांस वितरण गरेका हौं,’ उक्त स्रोतले भन्यो, ‘यस विषयमा अर्थ मन्त्रालयले बखेडा झिक्न खोजेपछि अध्यक्षज्यूले अर्थमन्त्री समक्ष राजिनमा दिनुभएको हो ।’

अधिकारी यस अघिका अर्थमन्त्री डा. युवराज खतिवडाका समयमा नेपाल बैंकका अध्यक्षमा नियुक्ती भएका थिए । अधिकारीले राष्ट्र बैंकमा रहँदा देखिनै तत्कालिन एमाले हालका नेकपा समर्थित भएर काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL