Logo

निजी क्षेत्र र सरकार एकअर्काका परिपुरक हुन्, मिलेर अघि बढौं : अर्थमन्त्री पौडेल

निजी क्षेत्र र सरकार एकअर्काका परिपुरक हुन्, मिलेर अघि बढौं : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र र सरकार एक अर्काका परिपुरक भएकाले मिलेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले सरकार सक्रिय नभई निजी क्षेत्र चलायमान नहुने र निजी क्षेत्र चलायमान नभई देशको अर्थतन्त्र चलायमान नहुने बताए । उनले सरकारलाई निजी क्षेत्रले कोरोनाको महामारीमा पनि गरेको सहयोगलाई जोड दिँदै आगामी दिनमा पनि भरपुर सहयोग गर्न आग्रह गरेका छन् ।

उनले भन्सार पूर्वाधारलाई पछिल्लो समय विशेष जोड दिईरहेकाले भन्सारसम्बन्धी समस्याहरु कम हुँदै गएको बताए । कार्यक्रममा बोल्दै उनले पछिल्लो समय भन्सार प्रशासन पनि सोहीअनुसार सुधार हुँदै गएकाले राजस्व चुहावटलगायतका क्रियाकलापहरु पनि कम हुँदै गएको उनको बुझाई छ । सरकारले निजी क्षेत्रलाई सहयोग गरेजस्तै निजी क्षेत्रले पनि सरकारलाई संकट र राजनीतिक अस्थिरताका बीच सहयोग गर्नुपर्ने उनले बताए । ‘हामी निजी क्षेत्र र सरकार एकअर्काका परिपुरक हौं,’ उनले भने, ‘समस्याको समयमा सरकारले निजी क्षेत्रलाई र निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अझैपनि भन्सार प्रशासनमा धेरै कुराहरु परिवर्तन गर्नुपर्ने बताएका छन । उनले पूर्व अर्थमन्त्री युवराज खतिवडाले गठन गरेको राजस्व बोर्ड प्रभावकारी नभएको भन्दै यसलाई अझै सशक्त र प्रभावकारी बनाउन माग गरेका छन् । यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले हाल भन्सार प्रशासन र पूर्वाधारमा धेरै विकास भएको बताए ।

उनका अनुसार केही बर्ष पहिलेको तुलनामा भन्सार व्यवस्थामा नै धेरै परिवर्तन भएपनि उत्तरतिरको नाका भने खुलाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो १ बर्षदेखि चीनतर्फको नाका बन्द रहेको बताउँदै यसलाई निजी क्षेत्र र सरकार लागिपरेर खुलाउनुपर्ने बताए । उनले पछिल्लो समय कोरोना महामारीका बीच पनि अर्थतन्त्रमा राम्रै सुधार आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL