Logo

ब्रोकर र मर्चेण्ट बैंकरको नाफामा धितोपत्र बोर्डको कसी, नाफाको १ प्रतिशत अनिवार्य सीएसआरमा

ब्रोकर र मर्चेण्ट बैंकरको नाफामा धितोपत्र बोर्डको कसी, नाफाको १ प्रतिशत अनिवार्य सीएसआरमा



काठमाडौं । ब्रोकर तथा मर्चेण्ट बैंकरले नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गर्नुपर्ने भएको छ । धितोपत्र बोर्डले सोमबार एक सर्कुलर जारी गर्दै केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा १ प्रतिशत रकम छुट्टयाई सीएसआरमा छुट्याउनु पर्ने व्यवस्था गरेको हो ।

विशेष गरी उक्त रकम लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको छ । सोका लागि बोर्डले मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था समेत कार्यान्वयनमा ल्याइसकेको जानकारी दिएको छ ।

धितोपत्र व्यवसायीको खुद मुनाफाबाट १ प्रतिशत रकम सीएसआर कोषमा छुट्टयाउने र उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरिने छ । जसबाट लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

हाल धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगेको र एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेकाले उनीहरुमा सो सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धिका लागि समेत सीएसआर फण्ड चाहिएको बोर्डको भनाई रहेको छ । साथै दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख शहरबाट कारोवार गर्न सक्ने व्यवस्था भएको र बजारमा नयाँ लगानीकर्ताको प्रवेश समेत बढ्दै गइरहेको सन्दर्भमा प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL