Logo

लुम्बिनी विकास बैंकमा बहुमत सञ्चालकसहित गुण समूहको प्रवेश, बाहिरियो पोखरेली समुह

लुम्बिनी विकास बैंकमा बहुमत सञ्चालकसहित गुण समूहको प्रवेश, बाहिरियो पोखरेली समुह



काठमाडौं । लुम्बिनी विकास बैंकमा बहुमत सञ्चालकसहित राजेन्द्र शाक्यको समूह प्रवेश गरेको छ । यस विकास बैंकलाई नयाँ ढंगले सञ्चालन गर्ने वृहत उद्देश्यसहित राष्ट्रबैंकका एक उच्च अधिकारीका आफन्तसहित गुण समूहको परोक्ष सहभागिता बढेको हो ।

यस समूहले लुम्बिनी विकास बैंकका पूर्वअध्यक्षसहित पोखरेली समूहको सेयर खरिद गरेको हो । किस्ट बैंकका पूर्व अध्यक्ष शाक्य एकताका निकै ठूलो समस्यामा परेका थिए । उनले पछि रुपान्तरित प्रभू बैंकको धेरैजसो सेयर बिक्री गरेका थिए र लोभ नगरीकन उक्त सेयर बेचेर आफ्नो व्यवहार सल्ट्याएका कारण उनी अहिले आर्थिकरुपले निकै शक्तिशाली रुपमा उदाएका छन् । समस्यामा परेपछि ज्योति समूहसँग सहकार्य गर्दै आएका शाक्य र ज्योति समूहबीच केही ठूला तारे होटलहरु खुल्दैछन् । ज्योति समूहद्वारा प्रवद्र्धित भाजुरत्न फाइनान्स लुम्बिनी विकास बैंकमा मिलेपछि र शाक्यको समूहले लुम्बिनीको सेयर किनेपछि यो समूहको पक्कड बलियो बनेको छ ।

लुम्बिनी फाइनान्स हुँदै ठूलो परिमाणमा विभिन्न कम्पनीका सेयरमा गरिएको लगानी यस विकास बैंकको ठूलो आम्दानीको स्रोतको रुपमा रहेको छ । बजारमा विभिन्न कम्पनीको सेयरको मूल्यवृद्धिसँगै यस कम्पनीको बजारमूल्यमा पनि प्रभाव पर्ने गरेको छ । पछिल्लो समयमा बजार बढेसँगै यस कम्पनीको पनि सेयरमूल्य ह्वात्तै बढ्ने एक कारण यो पनि हो ।

कुल चुक्ता पुँजी दुई अर्ब ७१ करोड रहेको यस विकास बैंकको पुरानो खराव कर्जाको नोक्सानी व्यवस्था भैसकेपछि विकास बैंकमध्येमा निकै सशक्त बन्न पुगेको छ । बैंकको रिेटेन अर्निङमा करिव १९ करोड र सञ्चितकोषमा झण्डै एक अर्ब ३२ करोड रहेको छ । बैंक सूत्रका अनुसार असोज महिनाको समेत आम्दानीलाई समावेश गर्दा करिव १२ देखि १४ प्रतिशत लाभांश वितरण गर्न मिल्ने स्थिति देखिएको छ तर अझैपनि बाह्य लेखापरीक्षक र नियमनकारी निकायको अन्तिम सुझाव आउन भने बाँकी नै छ । त्यसपछि मात्र नाफाको खास तस्वीर देखिनेछ । संस्थाको कुल निक्षेप करिव २९ अर्ब र कर्जा लगानी करिव २६ अर्ब रहेको छ । केही महिनाअघि यस विकास बैंकले प्राइम बैंकसँग गाभिनेबारे छलफल पनि चलाएको थियो । तर त्यसको अन्तिम नतिजा भने अहिलेसम्म आउन सकेको छैन ।

एकताका नारायणी नेसनल फाइनान्सको सफल नेतृत्व गरी देव विकास बैंकको नायब कार्यकारी प्रमुख हुँदै नरेश बोहोरा कार्यकारी प्रमुख भएपछि बैंकमा भित्रीरुपमा धेरै सुधार भैसकेको सो बैंक सूत्रले जानकारी दिएको छ । शाक्य समूहले नेपाल फाइनान्स किनेर त्यसमा पनि सुधार सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL