Logo

सरकार र डा केसीबीच ८ बुँदे सहमति, चिकित्सक संघद्वारा आन्दोलनको कार्यक्रम फिर्ता

सरकार र डा केसीबीच ८ बुँदे सहमति, चिकित्सक संघद्वारा आन्दोलनको कार्यक्रम फिर्ता



काठमाडौं । २७ दिनदेखी अनशनरत डा.गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिवार राति डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमतिमा हस्ताक्षर गरेका छन् । 

सहमतिमा हस्ताक्षर गरेसँगै आइतबार बिहान साढे ९ बजे डा. केसीले अनसन तोड्ने बताइएको छ । डा। केसी चिकित्सा शिक्षा र स्वास्थ्य सेवासहित ६ बुँदे माग राखेर गत भदौ २९ गतेदेखि आमरण अनशन बसेका थिए ।
 
डा. केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । 

त्यस्तै कोभिड-१९ को उचित व्यवस्थापनको लागि पिसिआर परीक्षण विस्तार गर्ने र कोभिड तथा अन्य रोगको उपचारका लागि आवश्यकता अनुसार सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने सहमती भएको छ । 

अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट व्यवस्था गर्ने सहमती भएको छ । 

नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा। गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको थियो । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणा गरेको थियो भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको थियो ।

यसअघि संघले केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै आश्विन २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । संघले घोषित आन्दोलनका कार्यक्रमहरुलाई संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आमसर्वसाधारण नागरिकहरु लगायत विभिन्न संघ संस्थाहरुले जाहेर गरेको ऐक्यबद्धता र समथर्न प्रति संघले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL