Logo

खतिवडाको नाममा लगाएको खेती नेप्सेले गर्यो रिजेक्ट, अब के गर्लान लगानीकर्ता ?

खतिवडाको नाममा लगाएको खेती नेप्सेले गर्यो रिजेक्ट, अब के गर्लान लगानीकर्ता ?



काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको नाममा चलखेल गर्दै आएको सेयर बजारलाई उनले पदबाट राजिनामा दिएको पहिलो दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिजेक्ट गरिदिएको छ । धेरै लगानीकर्ताहरुले सामाजिक सञ्जालहरुमा खतिवडाको वहिर्गमनसँगै नेप्से परिसुचकमा सर्किट हान्ने अनुमान गरेपनि ठिक त्यसको विपरित बजार दोहोरो अंकले घटेको छ ।

यसअघि बिनाकारण लगानीकर्ताहरुले पूर्व अर्थमन्त्री खतिवडाले बहिर्गमन र बहालीलाई देखाएर बजार घटाउने र बढाउने गर्दै आएपनि वास्तविकतामा नेप्सेले त्यस्तो नभएको देखाईदिएको छ ।
लगानीकर्ताहरुले सोचेजस्तै आईतबार बिहान नेप्से परिसुचक ४२ अंकसम्म बढेर विस्तारै घट्न पुगेको हो । लगातार ओरालो लागेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा १० दशमलव ४५ अंकले घट्दै १४ सय ९९ विन्दुमा आईपुगेको हो ।

नेप्सेका अनुसार आईतबार ट्रेडिङ र म्युचुअल फण्डबाहेक सबै समुहका परिसुचकमा पहिरो गएको छ । जसमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ४० अंकले ओरालो लागेको छ । यस्तै जिवन बीमा र निर्जिवन बीमा समुहको परिसुचकमा क्रमशः २६ र २५ अंकको गिरावट आएको छ ।
साथै आईतबार ट्रेडिङ समुहको परिसुचक २२ अंकले बढ्दा बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा भने ८ अंकको गिरावट आएको छ ।

आईतबार बिहान एकचोटी बढेर घटेको बजारमा १ सय ९१ कम्पनीका ७० लाख ३८ हजार ९ सय ९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७८ करोड २३ लाख ७७ हजार २ सय ८७ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL