Logo

नाडालाई महासंघको अवधारणामा लैजाने छु

नाडालाई महासंघको अवधारणामा लैजाने छु


रामराजा श्रेष्ठ
0
Shares

देशमा सवारीसाधन एसेम्बल उद्योगको सम्भावना एकदमै धेरै छ तर त्यसका लागि सरकार तथा निजीक्षेत्रबाट दिर्घकालिन प्रतिवद्धताको खाँचो छ ।

भन्सारमा सन्दर्भ मुल्य कायम गर्दा व्यवसायीहरु समस्यामा परेका छन् । देश डब्लुटीओ, साफ्टा लगायतको सदस्य भएको नाताले यसलाई हटाउनु पर्छ । यसैगरी देशमा भित्रने पेट्रोलियम पदार्थको गुणस्तर पनि राम्रो छैन । नेपालको अटो क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी दिनमा नाडाको कार्यदिशामा केन्द्रित रहेर नाडा अटोमोवाईल्स एशोसिशन अफ नेपालका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार ः

नाडालाई अघि बढाउनका लागि के–कस्ता योजना बनाउनु भएको छ ?

यो अटो व्यवसायीको प्रतिनिधिमुलक संस्था हो । यसमा लुब्रिकेन्ट्स, टायर, ट्युव, अन्य पार्टपुर्जा देखि ठूला सवारीसाधन आयातकर्ता तथा विक्रेताहरु यसका सदस्य हुनुहुन्छ । यस संस्थामा आवद्ध सदस्यहरुको व्यापार बृद्धि तथा व्यवस्थित गर्नका लागि उल्लेख्य भुमिका खेल्नेछु । व्यापार व्यवसामा विभिन्न खालका ऐन/नियमले अवरोध सिर्जना गरेको छ । आगामी दिनमा त्यसलाई सहज बनाउँदै लगिने छ । यस क्षेत्रमा विभिन्न खालका समस्या छन् आगामी दिनमा त्यसलाई समाधान गर्दै व्यवसायीक हितमा काम गर्ने छु । सवैले यसको अपनत्व गर्न पाउनेछन् ।

यस व्यवसायमा कस्ता खालका समस्या छन् ?

मुख्य गरी भन्सारको समस्या छ । गाडी आयात गर्दा व्यवसायीले भन्सारमा समस्या भोग्दै आएका छन् । सरकारले सवारीसाधन आयातमा ‘सन्दर्भ मुल्य’ लागू गरेको छ । त्यो व्यवसायीको हितमा छैन । हामीले यसको पटक–पटक विरोध गर्दै आएका छौं । नेपाल डब्लुटीओ, साफ्टालगायतको सदस्य भइसकेको छ । यो अवस्थामा सन्दर्भ मुल्य नभई करोबार मुल्यलाई मान्यता दिनु पर्छ । तर, सरकारले सन्दर्भ मुल्य लगाएर व्यवसायीलाई हतोत्साहित बनाइरहेको छ । यस्तै, स्पेयर्स पार्टमा उच्च भन्सार दर, सार्वजनिक खरिद ऐनजस्ता समस्या छन् ।

यसैगरी, सरकारले सवारीसाधन आयातमा ‘नेपाल सवारी प्रदुषण मापदण्ड २०६९’ लागू गरेको छ । जस अनुसार यूरो ३ मापदण्डभन्दा पछिका सवारीसाधन नेपाल भित्रिरहेका छन् । तर, त्यसमा प्रयोग गर्ने पेट्रोलियम पदार्थ सोही मापदण्ड अनुसारको छैन । आगामी दिनमा पेट्रोलियम पदार्थको गुणस्तर जाँच गर्ने ल्याव राखिनु जरुरी छ । सडक संजाल व्यवस्थित छैनन् । पछिल्लो समय सडक बन्ने क्रम बढेको छ तर गुणस्तरिय सडक छैन । यसैगरी, ट्राफिकजामको समस्या पनि उत्तिकै छ । अन्तरराष्ट्रिय मान्यता अनुसार १ ट्राफिकले १ सय ५० वटा सवारीसाधनको अनुगमन गर्न सक्छ तर नेपालमा ९ सयभन्दा बढी सवारीसाधनको अनुगमन गर्नुपर्ने वाध्यता छ ।

नाडाले उपत्यका वाहिर भएका व्यवसायीलाई समेट्न सकेन भन्ने गुनासो एकदमै छ । यसलाई तँपाइले कसरी सम्वोधन गनुहुन्छ ?

यो गुनासो पटक–पटक आएको हो । तर, त्यसलाई संवोधन गर्नका लागि गत वर्ष भएको साधारण सभाले नाडालाई महासंघको अवधारणामा लैजाने निर्णय गरेको छ । नाडा महासंघमा गएपछि देशभरमा अटोमोवाइल व्यवसायीलाई समेट्ने छ । हाल महासंघमा जानका लागि आन्तरिक तयारी भइरहेको छ । यसैगरी संगठन विस्तारलाई विशेष प्राथमिकता दिने छु । जसले गर्दा नाडाको छविलाई उच्च राख्नुका साथै सवै व्यवसायीलाई समेटेर अघि बढ्न सकिने छ ।

nada-anjan

अहिले अवस्थासम्म सवारीसाधनमा जनताको सहज पहुँच पुगेको छैन । सहज पहुँचका लागि नाडाको तर्फबाट के पहल हुनेछ ?

जनतामा सवारीसाधनको सहज पुहँच पुर्याउनका लागि सरकार समक्ष बारम्बार आग्रह गर्दै आएका छौं । यसको मुख्य कारण नै उच्च भन्सारदर हो । यसलाई घटाउनु जरुरी छ । सवारीसाधनमा लाग्दै आएको भन्सारदर कम गरी नेपाली जनाता समक्ष सवारीसाधनको पहुँच पुर्याउनका लागि नाडा लागि पर्ने छ ।

तर, सरकारले महङ्गा गाडी पैसा हुनेले चढ्ने हुन यसका भन्सार घटाउन सकिँदैन भन्दै आएको छ नि ?

सर्वप्रथम सरकारले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित गर्नुपर्छ । सरकारले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित नगरेसम्म निजी सवारीसाधनको प्रयोग बढ्नेक्रम रोकिँदैन । कुनै पनि व्यक्तिले आफ्नो कार्य दक्षता बृद्धि गर्नका लागि पनि निजी सवारीसाधन प्रयोग गर्नुपर्ने वाध्यता भइसकेको छ । अहिले सवारीसाधन विलासीता भन्द पनि आवश्यकताको बस्तु भइसकेको छ । जसको कार्यक्षमता तथा कार्यदक्षता बढेको छ उसको आर्थिक गतिविधि पनि बढेको छ । तसर्थ यसलाई विलासिताको बस्तुभन्दा पनि सवै जनताको पहुँचमा पुग्न सक्ने बनाउनु पर्छ ।

नेपालमा पटक–पटक सवारीसाधन एसेम्बलिङ उद्योगको विषयमा चर्चा भइरहेको छ । आगामी दिनमा यसलाई नाडाले कसरी अघि बढाउने छ ?

२ वर्षयता देशमा सवारीसाधनको एसेम्बलिङ उद्योग स्थापना गर्ने विषयमा बहस शुरु भएको छ । यसलाई सरकारले पनि सहुलिय दिएको छ । तर, यसलाई प्याकेजको रुपमा अघि बढाइनु पर्छ । सरकारले तथा निजी क्षेत्रले आ–आफ्ना प्रतिवद्धता जायर गर्नु जरुरी छ । नेपालमा सवारीसाधन एसेम्बल उद्योगबाट तत्काल बढी नाफा कमाउन सक्ने अवस्था छैन । यसलाई १०/१५ वर्षको प्याकेजको रुपमा लगिनुपर्छ । यसमा व्यवसायीहरु आफ्नो तर्फबाट प्रतिवद्धता जायर गर्न तयार छन् भने नाडाले पनि सोही अनुरुपको भुमिका निर्वाह गर्ने छ । तर, सरकारको पनि सोही अनुरुपको प्रतिवद्धता हुनु जरुरी छ ।

नेपाल अटो उद्योग स्थापना गर्नका लागि चुनौती पनि होलान् नि ?

पक्कै पनि छन् । अटोमोवाईल उद्योग स्थापनाको ठूलो मात्रमा जमिनको आवश्यकता पर्छ । त्यो हामीसँग छैन । त्यस्तै, विजुली, सडक, डल, पानी लगायतका पूर्वाधार हुनुपर्छ । अझ भन्नुपर्दा विशेष औद्योगिक क्षेत्र नभई उद्योग लगाउन सकिदैन ।

देशका औद्योगिक क्षेत्रमा जनताले विभिन्न माग राखेर बन्द हड्ताले गर्ने प्रबृत्ति बढ्दै गएको छ । त्यस्ता आन्दोलनले गर्दा व्यवसायीको लगानी डुब्ने खतरा हुन्छ । सरकारले त्यस्ता आन्दोलनलाई निस्तेज पार्नुपर्छ ।
देशमा अटोमोबाइलको बजार विस्तार कस्तो छ ?

अटोमोवाइलको बजार बर्षेनी २० देखि २५ प्रतिशतले विस्तार हुँदै गएको छ । आजभन्दा ५ वर्ष अघि यसको बृद्धिदर ३० प्रतिशतसम्म भएको थियो । तर, सोही समयमा भन्सार वृद्धि भयो भने बजारमा तरलता अभाव भयो । बैंकको ब्याजदर पनि बढ्यो । सन् २०१२ सम्मको २ वर्ष बजारमा मन्दी देखियो । जसले गर्दा केही समस्या देखिएको थियो । पछिल्लो समय पुनः बजार बढेको छ । गत आवमा यसको बृद्धिदर झण्डै २५ प्रतिशत रहेको थियो । बैशाखमा गएको भुकम्प र तराइमा भइरहेको आन्दोलनले पुनः अटो बजार ओरालो लागेको छ ।

अन्तमा अटो व्यवसायी तथा सरकारलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त व्यवसायीहरुले जुन विश्वासका साथ मलाई मत दिएर विजयी गराउनु भयो यसका लागि धन्यवाद दिन चाहन्छु । नाडा ४ दशकभन्दा बढी लामो इतिहास बोकेको संस्था हो । व्यवसायीको आत्मवल उच्च गरी व्यवसाय गर्ने वातावरण बनाउनका लागि नाडा सधै तत्पर रहने छ । यसैगरी, नाडा यातायात क्षेत्र विकासका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ । त्यसका लागि अटोमोवाइल सम्बन्धी ऐन नियम बनाउँदा नाडालाई पनि साथमा लिएर अघि बढ्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्