Logo

आज ललितपुरमा राति १० बजेसम्म कर्फ्यू आदेश जारी, उल्लंघन गरे गोली हान्ने चेतावनी (सूचनासहित)

आज ललितपुरमा राति १० बजेसम्म कर्फ्यू आदेश जारी, उल्लंघन गरे गोली हान्ने चेतावनी (सूचनासहित)



काठमाडौं । ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र आज कर्फ्यू आदेश जारी भएको छ । स्थानीय प्रशासनले जारी गरेको आदेश अनुसार शुक्रबार बिहान चार बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने छ।

मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकामा कर्फ्यू लगाउने निर्णय बिहीबार साँझ गरेको थियो।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ । कर्फ्यू जारी भएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि घर बाहिर निस्कन दिएको छैन । अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई समेत चेकजाँचमा कडाई गरिएको छ। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप भएको थियो। कर्फ्यू जारी भएको क्षेत्रमा घरबाट बाहिर निस्केमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
MBL