Logo

आन्तरिक उडान, शैक्षिक संस्था र यातायात भदौ मसान्तसम्म बन्द, असोजदेखि खुल्ने सम्भावना कति ?

आन्तरिक उडान, शैक्षिक संस्था र यातायात भदौ मसान्तसम्म बन्द, असोजदेखि खुल्ने सम्भावना कति ?



काठमाडौं । सरकारले आन्तरिक उडान, शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।

देशमा कोरोना भाइरसबाट संक्रमित तीव्र गतिमा बढिरहेकाले सरकारले शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यसैगरी सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरेको छ । हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म पुर्‍याएको हो ।

साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो । अहिलेको यो निर्णयपछि अब विद्यालय भदौ मसान्तसम्म नखुल्ने भएका हुन् । लकडाउन हटेपनि अहिले देशभरका करिब ५० जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

त्यस्तै सरकारले वैदेशिक रोजगारीका जुन देशले कामदारहरूलाई खुला हुन्छ सोहि देशका श्रम इजाजत खोल्दै जाने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब असोज १ देखि आन्तरिक उडान, शैक्षिक संस्था र लामो दूरीका यातायात सञ्चालन हुने आशा गरेर बस्नुबाहेक अर्को विकल्प पनि छैन् ।

तर, असोजदेखि पनि यी सेवा सुचारु हुने सम्भावना भने कमै रहेको जानकारहरु बताउँछन् । अहिले संक्रमणको दर बढ्दै गएको अवस्थामा सो समयमा पिकमा पुग्न सकने आँकलन भइरहेकोले असोजदेखि पनि आन्तरिक उडान, शैक्षिक संस्था र लामो दूरीका यातायात सञ्चालनको ग्यारेन्टी नरहेको सरकारका एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL