Logo

आजबाट काठमाडौं उपत्यकामा दोश्रो चरणको निषेधाज्ञा, काठमाडौं प्रवेश नाकामा थप कडाई

आजबाट काठमाडौं उपत्यकामा दोश्रो चरणको निषेधाज्ञा, काठमाडौं प्रवेश नाकामा थप कडाई



काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको आजदेखि दोश्रो चरण शुरु भएको छ । निषेधाज्ञा एक साता थपिएसँगै काठमाडौं उपत्यका प्रवेश नाकामा थप कडाइ गर्न थालिएको छ ।

उपत्यकामा दिनहुँ संक्रमितको संख्या बढिरहेका बेला थपिएको निषेधाज्ञासँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश नाकामा चेकजाँचलाई थप कडा बनाएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले आज (बुधबार) निषेधाज्ञाको समय एक साता थप गरी भदौ १७ गते सम्मका लागि निरन्तरता दिने निर्णय गरेका छन् । यससँगै उपत्यका प्रवेश गर्ने नाकाहरुमा प्रहरीले चेकजाँचलाई थप कडाइ गरेको छ ।

बुधबार दिउँसो उपत्यकाका मुख्य नाकाहरु नागढुङ्गा र साँगा भन्ज्याङ नाकामा प्रहरीले चेकजाँचलाई कडा पारेको छ । नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यसबाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको देखिन्छ ।

त्यस्तै अत्यावस्यक कामका लागि आउनेहरुलाई पनि सोधपुछ गरी सम्पर्क विवरण टिपेर प्रवेश गर्न दिएको छ । सरकारले पनि अत्यावस्यक कामकाजका लागि आउनेहरुलाई नरोक्ने बताउँदै आएको छ । तर जिल्ला प्रशासन कार्यालयबाट भने कुनै पनि पास वितरणको काम भएको छैन ।

उपत्यका बाहिर जाने सवारी साधन भने खासै देखिएका छैनन् । यस्तै भक्तपुरतर्फको साँगा नाकामा पनि प्रहरीले कडाइ गरेको छ । उपत्यका प्रवेश गर्ने सवारी साधन कम मात्रामा देखिन्छन् । यस नाकामा पनि प्रहरीले सवारी साधनमा आउने मानिसहरुको विवरण टिपेर पठाउने गरेको छ ।

समग्रमा उपत्यकाका सबै नाकामा सुरक्षाकर्मीहरुको उपस्थितिलाई बाक्लो बनाइएको छ । उपत्यकाभित्र पनि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मुख्य सडकका चोकचोकमा प्रहरीले चेकजाँचलाई कडा गरेको छ । अत्यावस्यक सेवाका सवारी साधन भने परिचयपत्रका आधारमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL