काठमाडौं । भदौं १६ गतेबाट नियमित अन्तरराष्ट्रिय उडान खोल्ने निर्णय गरेको सरकारले आन्तरिक उडान भने तत्काल नखोल्ने भएको छ ।
मंगलबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७६–०७७ को प्रगति पुस्तिका सार्वजनिक गर्दै आन्तरिक उडान तत्कालै खोल्ने अवस्था नभएको बताए । मन्त्री भट्टराईले कोभिड १९का संक्रमित बढ्दै जाँदा आन्तरिक उडान अनिश्चित भएको बताए।
‘मन्त्री भट्टराईले कोभिडका संक्रमितको संख्या बढ्दै जाँदा तत्काल आन्तरिक उडान गर्ने सम्भावना नरहेको बताउँदै पहाडी र हिमाली क्षेत्रमा उडान गर्न सकिन्छ कि भनेर छलफल गरिरहेको बताए ।
उनले मन्त्रालय आन्तरिक उडान खोल्ने कुरामा सकारात्मक भए पनि कोभिडको जोखिमलाई ख्याल गर्दै अघि बढ्ने बताए । उनले चाडपर्वनजिकै आएको भन्दै आन्तरिक उडान खोल्ने अवस्था भने आएको बताए । त्यस्तै अन्तर्राष्ट्रिय उडानमा दैनिक ५ सय मात्रै आउन पाउने संख्या कम भएको स्वीकार गर्दै जोखिमलाई पनि ख्याल गर्दै संख्या बढाउने उनको भनाइ छ।
‘हवार्इ यात्रुले सरकारले बनाएको नियम मान्ने र संक्रमितको संख्या बढेन भने ५ सयभन्दा बढीलाई पनि व्यवस्थापन गर्न सकिने मन्त्री भट्टराईले बताए ।
वायुसेवा सञ्चालक संघले भदौ १६ गतेबाटै आन्तरिक उडान नखोले आन्दोलन गर्ने चेतावनी दिइसकेको अवस्थामा अब आन्तरिक उडान नखुले के हुन्छ भन्नेमा अन्यौलता बढेको छ ।