Logo

एक बर्षमा ११ खर्ब ९६ अर्बको आयात हुँदा ९७ अर्बको निर्यात, व्यापारघाटामा १६ प्रतिशतको संकुचन

एक बर्षमा ११ खर्ब ९६ अर्बको आयात हुँदा ९७ अर्बको निर्यात, व्यापारघाटामा १६ प्रतिशतको संकुचन



काठमाडौं । गत आर्थिक बर्ष २०७६/७७ मा नेपालले गर्ने वैदेशिक व्यापारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार गत बर्ष नेपालले गर्ने आयातको व्यापारमा १५ दशमलव ६ प्रतिशतको गिरावट आउँदा निर्यातको व्यापारमा भने सामान्य सुधार आएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष नेपालले आयात घटाउँदै ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १५ दशमलव ५ प्रतिशतले कम हो । यस्तै निर्यातको वृद्धिदरमा भने गत बर्ष अघिल्लो बर्षको तुलनामा केही कमी आएपनि वृद्धि भने पोजेटिभ छ । अघिल्लो आर्थिक बर्ष नेपालले गर्ने निर्यातको वृद्धि १९ दशमलव ४ प्रतिशतले भएपनि गत बर्ष प्रतिकुल समयका कारण नेपालले गर्ने निर्यातको व्यापारमा जम्मा शुन्य दशमलव ६ प्रतिशतको वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षभरी नेपालले ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको निर्यातको व्यापार गरेको छ । गत बर्ष तयारी पोशाक, जस्तापाता, तार, पोलिस्टरलगायतका बस्तुको निर्यातमा कमी आउँदा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लास्टिकका भाँडालगायतको निर्यात बढेको छ ।

साथै आयातको सबैभन्दा माथि भने कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रसायनिक मल, खाने तेललगायतको आयात बढ्दा पेट्रोलियम पदार्थ, यातायातका साधन, पार्टपुर्जा, एमएस बिलेटलगायतको आयातमा गिरावट आएको छ ।

गत बर्ष भारतमा हुने निर्यातमा ११ प्रतिशतको वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३ र १८ प्रतिशतले निर्यात व्यापार ओरालो लागेको छ । यस्तै आयात हुने बस्तुहरुमा भने भारत, चीन तथा अन्य मुलुकबाट हुने आयातमा नै ठुलो ह्रास आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यसरी आयातमा गिरावट र निर्यातमा केही वृद्धि हुँदा नेपालको व्यापारघाटा समेत १६ दशमलव ८ प्रतिशतले गिरावट आएको छ । अघिल्लो बर्ष १३ प्रतिशतले बढेको व्यापारघाटा गत बर्ष घट्दै १० खर्ब ९९ अर्ब ९ करोडमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL