Logo

भन्सार नाकाबाट छुटेका मालबाहक गाडीहरुको ढुवानी सहज गरिदिन संघको आग्रह, विना रोकतोक सञ्चालन गर्न दिन माग

भन्सार नाकाबाट छुटेका मालबाहक गाडीहरुको ढुवानी सहज गरिदिन संघको आग्रह, विना रोकतोक सञ्चालन गर्न दिन माग



काठमाडौं । भन्सार नाकाबाट छुटेका मालबाहक गाडीहरुको ढुवानी सहज गराइदिन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सम्बन्धित निकायसँग आग्रह गरेको छ । काठमाडौं उपत्यका लगायत देशभर लगभग ५० जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न देशबाट सामाग्रीहरु लिएर भन्सार प्रक्रिया पुरा गरी ल्याइएका मालवाहक गाडी तथा कन्टेनरहरु राजमार्गमा नै अलपत्र परेको भन्दै त्यसलाई बिना रोकतोक सञ्चालन गर्न दिनको लागि आग्रह गरेको छ ।

‘निषेधआज्ञाको पालना गर्ने गराउने सिलसिलामा विभिन्न देशहरु बाट आयात भई नेपाल सरकारको विभिन्न भन्सार नाकाहरु बाट सम्पूर्ण प्रक्रिया पुरा गरि आफ्नो गन्तव्यमा ढुवानी गर्न छुटेका मालबाहक गाडीहरु तथा कन्टेनरहरुलाई विभिन्न राजमार्गहरुमा अवरोध खडा गरि निर्बाध रुपमा संचालन गर्न नदिई त्यस्ता मालबाहक गाडीहरु सडकहरुमै अलपत्र परि अत्यावश्यक उद्योग तथा सेवा संग सम्बन्धित कच्चा पदार्थ तथा तयारी वस्तुहरु असुरक्षित तवरले अलपत्र पर्न गएको हुनाले यस परिस्तिथिलाई सम्बन्धित निकायहरुमा अवगत गराउदै निर्वाध रुपमा ढुवानी कार्यलाई सहज पारिदिनका लागि अनुरोध गर्दछौ’, जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै अत्यावश्यक वस्तुहरुको ढुवानी कार्यमा संलग्न मालवाहक गाडीहरु समेतको वितरणमा सजगता ल्याउन निर्वाध रुपमा संचालन गर्न सक्ने वातावरणमा सहजीकरण गरिदिन समेत संघले आग्रह गरेको छ । त्यस्तै लामो लकडाउनको कारण निजी क्षेत्रमा परेको असरका कारण समग्र अर्थतन्त्रनै धरासायी बन्न नदिनको लागि दीर्घकालिन प्रभावकारी उपायहरुको पहिचान गरि अवलम्बन गर्न गराउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

काठमाडौं उपत्यकामा गत भदौ ३ गते रातिबाट निषेधाज्ञा जारी गरेको छ । यस अवस्थामा जोखिम न्यूनिकरणको लागि सबै उद्योगी व्यवसायीहरुलाई पूर्ण रुपमा निषेधाज्ञाको पालना गर्नको लागि समेत संघले अनुरोध गरेको छ ।

साथै यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु आपूर्तीमा संलग्न उद्योगी एवं व्यवसायीहरुमा सम्पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गरेर उच्च सतर्कता अपनाई मात्र आपूर्ती तथा बिक्री वितरण कार्यमा संलग्न हुनसमेत संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्