Logo

टेलिकमको रु.३० को रिचार्ज कार्ड छिट्टै बजारमा

टेलिकमको रु.३० को रिचार्ज कार्ड छिट्टै बजारमा


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

५ असोज,काठमाडौं । नेपाल टेलिकमले ३० रुपैयाँको रिचार्ज कार्ड बजारमा ल्याउने भएको छ । त्यसका लागि ‘भौचर म्यानेजमेन्ट सिस्टम’ (भिओएमएस)को क्षमता बढाउने काम दु्रत गतिमा अघि बढेको टेलिकमका प्रवन्ध निर्देशक बुद्धि आचार्यले बताए । ‘भिओएमएसको क्षमता बढाउने काम अन्तिम चरणमा पुगेको छ’ उनले भने ‘त्यसलगतै ३० रुपैयाँको रिचार्ज बजारमा आउने छ ।’ विशेषगरी विद्यार्थी तथा कम आय स्रोत हुने ग्राहकलाई लक्षित गर्दै कम मूल्यका रिचार्जकार्ड ल्याउन लागेको उनले जानकारी दिए ।

कम मूल्यका रिचार्ज कार्डप्रति उपभोक्ताहरुको आकर्षण बढेकोले ३० रुपैयाँको कार्ड ल्याउन लागिएको आचार्य बताउँछन् । कम मूल्यका रिचार्ज कार्ड ल्याएपछि मोबाइलमा कम खर्च हुने उनको विश्वास छ ।

कम्पनीले सबै प्रकारका ग्राहकको सुविधालाई ध्यानमा राखी २० रुपैयाँको रिचार्जकार्ड समेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले केही समय अघि रु. ५० को कार्ड बजारमा ल्याइसकेको छ । प्रवन्ध निर्देशक आचार्यका अनुसार बजारमा रु.५० कार्ड सवैभन्दा बढी विक्री हुँदै आएको छ ।

हाल कम्पनीका ५०, १ सय, २ सय, ५ सय र १ हजार रुपैयाँ मूल्यदरका रिचार्ज कार्ड प्रचलनमा छन् । यी मूल्य दरका रिचार्ज कार्ड वार्षिक ३० करोड थान छपाइ हुँदै आएको छ । कम मूल्यका रिचार्ज कार्ड प्रयोगमा आएसँगै कम्पनीलाई वार्षिक ८० करोड थान रिचार्ज कार्ड आवश्यक पर्ने बताइएको छ ।

कम्पनीबाट सञ्चालित जिएसएम र सिडिएमएका प्रिपेड,पोष्टपेडका साथै पिएसटीएन तथा एडिएसएल सेवाको विल भुक्तानी रिचार्ज कार्डबाट हुँदै आएको छ ।

कम्पनीका फिक्स लाइन,जिएसएम,सिडिएमए तथा एडिएसएल गरी हाल १ करोड २८ लाख ग्राहक छन् । यसमध्ये १ करोड ४ लाख ग्राहकले जिएसएम प्रिपेड सेवा र १२ लाख ४४ हजार ग्राहकले सिडिएमएको प्रिपेड सेवा प्रयोग गर्दै आएको बताइएको छ ।

यसैवीच टेलिकम सिस्टम अपग्रेडको क्रममा रहेकोले ग्राहकहरुले भने रिर्चाजमा समस्या झेल्नुपरेको छ । व्यालेन्स नदेखिने तथा समयमा रिचार्ज नहुने समस्या झन् बढेको छ । रिचार्ज कार्डको समस्या हटाउन सिस्टम अपग्रेड गरेकोले समस्या देखिएको आचार्यले जानकारी दिए । अपग्रेड कार्य सम्पन्न भएसँगै रिचार्जकार्डमा आएका सम्पूर्ण समस्या हट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्