काठमाडौं। कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैनतर सामान्य रुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।
जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उनले जानकारी दिए । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।
अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उनले अनुरोध गरेका छन् । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उनले प्रष्ट पारे । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । मंगलबार मात्रै उपत्यकामा ६२ जनामा कोभिड–१९ देखिएको छ ।
सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्न थालिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनले अटेर गर्नेलाई कैद सजाय गर्ने चेतावनी समेत दिएका छन् । रासस