काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित नियम तयार पारेको छ । यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव हुने गरेका थिए । तर यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो ।
सरकारले असार १५ बाट नेपालमा औपचारिक रुपमा धान रोपाइँ सुरु गर्दैछ । खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको छ । ‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि’ नाराका साथ सुरु हुन गइरहेको १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा २५ भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ । यद्यपि २५ भन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने भएको छ ।
ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा धानको बीउ रोपेर औपचारिक रुपले १७औँ र रोपाइँ महोत्सवको आयोजना हुँदै छ । यसपछि नेपालभर औपचारिक रुपमा धान रोपाइँ सुरु हुन्छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन र जोगाउन धान रोपाइँ हुने स्थान वरपर गुणस्तरीय मास्क, सानिटाइजर र हात धुनका लागि साबुनपानीको व्यवस्था मिलाउनुपर्ने नियम बनाएको छ ।
रोपार तथा बाउसेको शरीरको तापक्रम तथा लक्षणको मापन गर्नुपर्ने तथा परीक्षण गर्दा १०० दशमलव चार प्रतिशत ज्वरो आएमा रोपाइँमा संलग्न हुन रोक लगाउनुपर्ने मापदण्ड तय गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । हालको जनसङ्ख्या (झण्डै तीन करोड) जनतालाई पुर्याउन ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । तर नेपालको उत्पादन भने जम्मा ५५र५६ लाख मेट्रिक टनमा सीमित रहेको छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गैरमिनि (घाँस) प्रजाति अन्तर्गतको बाली हो ।
कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले नेपालीहरुको भातै मात्र खाने ‘भाते‘ संस्कृतिका कारण चामलको आयातमा वृद्धि भएको बताए । हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरुप मसिना तथा बास्नादार (बास्मती) चामलको आयातमा वृद्धि हुँदै गएको तथ्याङ्क छ ।
हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा धान रोपाइँ हुन्छ । हालसम्म उच्च, मध्य पहाड र तराईमा गरी दुई लाख ७५ हजार, २९ हेक्टर जमीनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष पनि गत वर्ष जस्तै किसानले समयमा नै रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ । यतिखेर लाखौँ टन मल कलकत्ता बन्दरगाहमा अड्किएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
विश्वमा खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । झण्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् ।