Logo

साढे ९८ प्रतिशत जनताको हातमा मोवाइल, एनसेलको हिस्सा ४८ प्रतिशत

साढे ९८ प्रतिशत जनताको हातमा मोवाइल, एनसेलको हिस्सा ४८ प्रतिशत


रामराजा श्रेष्ठ
27
Shares

रामराजा श्रेष्ठ

२४ भदौं, काठमाडौं । नेपालका ९८ दशमलव ४३ प्रतिशत जनताको हातमा मोवाइल फोन पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले निकालेको पछिल्लो तथ्याङ्क अनुसार २ करोड ६० लाख ७८ हजार जना नेपालीको हातमा मोवाइल फोन पुगेको छ ।

मोवाइल फोनमा सवैभन्दा बढी हिस्सा एनसेलको रहेको छ । नेपालका ४० प्रतिशत जनताको हालतमा एनसेल मोवाइल पुगेको उक्त तथ्याङ्कले देखाएको छ । हालसम्म एनसेलले १ करोड २७ लाख २७ हजार वटा सिमकार्ड वितरण गरको छ । पछिल्लो १ वर्षको एनसेलको ग्राहक ८ लाख २ हजारले बढेको छ ।

यसैगरी दोस्रो स्थानमा नेपाल टेलिकम रहेको छ । टेलिकमले जीएसएम र सीडीएमए गरी नेपालका ४५ दशमलव ४३ प्रतिशत जनताको हातमा मोवाइल फोन पुर्याएको छ । जसमा १ करोड ७ लाख ८० थान जीएसएम सिम वितरण भएको छ भने १२ लाख ५७ हजारवटा सीडीएमए मोवाइल रहेको तथ्याङ्कले देखाएको छ । नेपाल टेलिकमले भने पछिल्लो एक वर्षमा ल्याण्डलाइन र मोवाइल गरी १९ लाख ग्राहक विस्तार गरेको छ ।

मोवाइल फोनमा स्मार्ट टेलिकमको हिस्सा सामान्य मात्र रहेको छ । हालसम्म स्मार्टले १३ लाख १२ हजारवटा सिम वितरण गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार नेपालका १ सय ४ प्रतिशत जनसंख्याले टेलिफोन सेवा प्राप्त गर्दै आएका छन् । नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय रहेकोमा २ करोड ७७ लाख ३३ हजारले टेलिफोन सेवा उपयोग गरिरहेको तथ्याङ्कले देखाउँछ । जसमध्ये फिक्स्ड लाइनको हिस्सा ३ दशमलव १९ प्रतिशत, मोवाइल फोनको हिस्सा ९८ दशमलव ४३ प्रतिशत तथा एलएमएस र एलएमपीसीएसको बजार हिस्सा ३ दशमलव ३ दशमलव जिरो ६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL