Logo

बैंक तथा वित्तीय संस्थामा एउटा मात्र ट्रेड युनियन

बैंक तथा वित्तीय संस्थामा एउटा मात्र ट्रेड युनियन


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२१ भदौं, काठमाडौं । सरकारले ट्रेड युनियन अधिकारलाई निरुत्साहित गर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को संसोधन विधेयक संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले शुक्रबार संसदमा पेश गरेको बाफियातामा कुनै पनि बैंक तथा वित्तीय संस्थामा एक भन्दा बढी ट्रेड युनियन खोल्न नपाइने उल्लेख गरिएको छ । बाफियाले बैंक तथा वित्तीय संस्थामा पहिलो पटक ट्रेड युनियनको विषय उल्लेख गरेको हो ।

यस अघि बैंक तथा वित्तीय संस्थाका कर्मचारीले श्रम ऐन अन्तरगत रहेर ट्रेड युनियन खोल्दै आएका थिए । तर, आगामी दिनमा बाफिया अन्तरगत रहेर ट्रेड युनियन खोल्नुपर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । ‘बैंक तथा वित्तिय संस्थाहरु बाफिया अन्तरगत संचालन हुने भएकाले त्यहाँ कार्यरत कर्मचारीका लागि पनि सोही ऐन आकर्षित गराइएको हो,’ उनले भने, ‘आगामी दिनमा एउटा बैंकमा एउटा मात्र आधिकारीक ट्रेड युनियन हुनेछ ।’ साथै, एउटा मात्र ट्रेड युनियन खोल्नका लागि पनि सम्बन्धित निकायको स्वीकृति लिएर मात्र खोल्न सकिने बाफियामा उल्लेख छ ।

हाल बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीले श्रम ऐन अन्तरगत रहेर राजनीतिक दल पिच्छेका ट्रेड युनियन खोल्दै आएका छन् । विशेषगरी सरकारी स्तरबाट संचालित बैंकहरुको यसको ठूलो प्रभाव परेको छ । केही निजी क्षेत्रबाट खुलेका बैंकमा पनि ट्रेड युनियनको प्रभाव बढ्दै गएको छ । आगामी दिनमा बैंक तथा वित्तिय संस्थामा ट्रेड युनियनको हावीलाई निरुत्साहित गर्न र बैंकलाई स्वच्छ रुपमा संचालन गर्न उक्त व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

हाल सरकारले संसदमा पेश गरेको बाफियाले ट्रेड युनियनको धेरैजसो अधिकार कटौती गरेको छ । बाफिया कार्यान्वयनमा आएसँगै एउटा संस्थामा एउटा मात्रै ट्रेड युनियन हुनेछ भने युनियनका पदाधिकारीले कार्यालय समय भित्र आफ्ना प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको कुनै सम्पती प्रयोग गर्न पाउने छैनन् । हाल ट्रेड युनियनले वित्तीय संस्थामा छट्टै कार्यालय खडा गरेर बसेको अवस्थामा उक्त अधिकार समेत कटौती हुनेछ ।

यता नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल पनि बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई राम्रो सेवा सुविधा दिँदै आएकाले धेरै ट्रेड युनियनको आवश्यकता नपर्ने बताउँछन् । ‘धेरै कर्मचारी भएको ठाउँमा एउटा ट्रेड युनियन हुनु राम्रो हो,’ उनले भने, ‘तर, धेरै वटा ट्रेड युनियन खोल्नुको कुनै औचित्य छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL