Logo

आजदेखि यसअघि जारी गरिएका सबै सवारी पास रद्द, अत्यावश्यक परे यस्तो छ नयाँ व्यवस्था

आजदेखि यसअघि जारी गरिएका सबै सवारी पास रद्द, अत्यावश्यक परे यस्तो छ नयाँ व्यवस्था



काठमाडौं, ३ जेठ । आजदेखि यसअघि स्थानीय प्रशासनले जारी गरेका सबै पास रद्द गरिएको छ। कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका बेला जिल्लाभित्र आवतजावत गर्न जारी पास पनि आजदेखि रद्द गरिएको हो ।

पासको दुरुपयोग गर्ने र आवागमन गरेका मानिसहरूमा कोरोना संक्रमण भेटिएपछि सवारी पास रद्द गरिएको गृहमन्त्रालयको दाबी छ ।

गृह मन्त्रालयले जेठ १ गते नै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न जारी गरेको सबै प्रकृतिका पासहरु रद्द गरिसकेको छ। अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र आवतजावत गर्न जारी गरिएको पास पनि आजदेखि रद्द गरिदिएको हो। जिल्ला प्रशासन कार्यालयहरूले पनि गृहको निर्देशनअनुसार पास रद्द गरिएको जनाएका छन्‌।

अत्यावश्यक काम पर्नेले अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारण खुलाएर निवेदन दिएपछि मात्र सवारी पास प्राप्त गर्न सक्नेछन्‌। प्रमुख जिल्ला अधिकारीले उपयुक्त देखेमा मात्र पास जारी हुनेछ।

अर्को जिल्लामा जानुपर्ने भएमा जुन जिल्ला पुग्नुपर्ने हो, त्यहाँको जिल्ला प्रशासन कार्यालयको पनि अनुमति लिनुपर्ने गृहले जनाएको छ। अब काठमाडौं उपत्यका प्रवेश गर्ने पास चाहनेले गृह मन्त्रालयबाटै स्वीकृति लिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL