Logo

‘लकडाउन’ ४९ औ दिनमा : काठमाडौंमा चहलपहल बढ्यो, लकडाउन उल्लंघन बढेसँगै संक्रमणको जोखिम

‘लकडाउन’ ४९ औ दिनमा : काठमाडौंमा चहलपहल बढ्यो, लकडाउन उल्लंघन बढेसँगै संक्रमणको जोखिम



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ४९ औं दिन हो । शुक्रबारदेखि सरकारले जारी गरेको छैटौं चरणको लकडाउन शुरु भएको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो । यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो ।

यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले बुधबार छैटौंपटक शुक्रबारदेखि देखि जेठ ५ मध्यरातसम्मका लागि लकडानको अवधि थप गरेको छ ।

४९ औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । छ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ ।

सरकारले आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याए पनि केही क्षेत्रलाई भने खुकुलो पारेको छ । मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो । लकडाउनका खुकुलो भएसँगै काठमाडौंमा चहलपहल बढेको छ । आइतबार सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ ।

उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् । सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ । पहिले बिहान, साँझ मात्रै खुल्ने खाद्यान्नको पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ । कतिपयले सवारी साधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ ।

कतिपय व्यक्ति अब त लकडाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटियो । सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिले जस्तै पालना गर्नुपर्छ भन्ने थाहा नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर बाहिर निस्केको पाइएको छ । उपत्यकामा निर्माणका लागि आवश्यक हार्डवेयर पसल खुल्ने भनिए पनि कतिपय स्थानमा चिया पसल, क्याफे, कस्मेटिक्सलगायत पसलसमेत खुलेको देखिन्थ्यो ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुप्रयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताए । लकडाउनको शुरुको साताभन्दा पछिल्लो समय पासको दुरुप्रयोग बढिरहेको उनले बताए । ट्राफिक प्रहरीले विभिन्न स्थानमा जाँच पनि बढाएको उनको भनाइ छ । उनले भने, “हामीले पहिलेभन्दा जाँच अझ कडाइ गरिरहेका छौँ ।”

आइतबार दिउँसोसम्म सवारी पासको दुरुपयोग गर्ने चार पाङ्ग्रे १०२ र दुई पाङ्ग्रे ४५८ गरी ५६० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । दैनिक ७०० देखि ८०० सम्म सवारी साधन कारवाहीमा परिरहेको उनले बताए । अहिले खुलेका कार्यालयमा जनशक्ति र सवारी साधनको प्रयोग सहीरूपमा भइरहेको छ÷छैन भनी नियमनको जिम्मेवारी सम्बन्धित मन्त्रालयको सचिवलाई दिइएको छ । त्यससँगै ट्राफिक प्रहरीले पनि जाँच गरिरहेको छ । उनले भने, “गल्ती भेटिँदा कारवाही पनि भइरहेको छ ।”

उपत्यकामा भीडभाड हुन नदिन कस्ता सवारी साधन कुन समयमा चल्न दिने भनी समय निर्धारण गरिएको छ । विकास निर्माणसम्बन्धी सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रमा भने पहिलेदेखि नै लकडाउनको समयमा समेत अत्यावश्यकबाहेकका पसल खुल्ने गरेकामा अहिले त्यो अझै बढेको छ । अत्यावश्यकबाहेकका पसल खुल्दा ती स्थानमा जुनसुकै समयमा मानिसको आवतजावत देखिन्छ । काँठ क्षेत्रमा प्रहरीको उपस्थिति कम हुँदा मानिस छोटो दूरीमा सवारी साधनको प्रयोग गरिरहेका छन् । यस क्षेत्रमा बिहान र साँझको समयमा घुम्न निस्कनेको भीड देख्न सकिन्छ । धेरै ठाउँमा चाडपर्वको समयमा जस्तै समूहमा बसेर खेल खेल्ने गरेको देखिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवालीले अहिले खुल्ला भएका विभिन्न कार्यालय र निर्माण क्षेत्रका कारण चहलपहल बढ्नु स्वाभाविक भएको बताए । उनका अनुसार खाद्यान्न र औषधिका पसल पहिले निश्चित समयमात्रै खुल्ने भए पनि अहिले दिनभर खुल्दा पनि मानिसहरू सडकमा बढी देखिएका छन् । लकडाउन उल्लङ्घन गर्नेलाई भने कारवाही भइरहेको उनले बताए । उनले भने, “अहिले यसलाई अझै कडाइ गरिएको छ ।”

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर १२० पुगेको छ । संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये ३१ जना निको भएर फर्किएसँगै केही आशा पनि जागेको छ । जसमध्ये निको भइसकेका ३ जना संक्रमितमा पुनः कोरोना पोजेटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरेको सरकारले लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२० अनुसार थुनामा राख्नेसम्मको कारबाही गरिने निर्णय गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ ।

प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् ।

अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL